काठमाडौं । पर्यटकहरूको केन्द्र मानिने काठमाडौंको ठमेल क्षेत्र पछिल्लो समय अवाञ्छित गतिविधिले असुरक्षित बन्दै गएको छ । विशेषगरी पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकहरू नै अनैतिक क्रियाकलापमा संलग्न भएको पाइएको छ । ठमेलको सुरक्षा र मर्यादालाई ध्यानमा राख्दै जिल्ला प्रहरी परिसरले एउटा ठूलो अपरेसन चलाएको छ ।
काठमाडौंको मुटु ठमेल । जहाँ कहिल्यै निद्रा लाग्दैन। विदेशी पर्यटकको पहिलो रोजाइ र राजधानीको ऐना। तर,यही ऐनामा पछिल्लो समय केही अवाञ्छित दृश्यहरू थपिएका छन् ।
झिलिमिली सडकको आडमा एउटा यस्तो धन्दा फस्टाउँदैछ, जसले ठमेलको मर्यादामाथि प्रश्न उठाएको छ। जब रातको ११ बज्छ। सडकमा भिडभाड कम हुँदै जान्छ, तब सुरु हुन्छ एउटा फरक गतिविधि । प्रहरीलाई मंगलबार सूचना थियो— विदेशी नागरिकहरू नै अनैतिक क्रियाकलापमा संलग्न छन् ।
यही सूचनाको आधारमा जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त लैनचौरले एउटा सप्र्राइज अपरेसन तयार पार्छ। प्रहरीको निशानामा थिए ती विदेशी अनुहार,जो भिजिट भिसामा नेपाल आएका थिए। तर, उनीहरूको उद्देश्य भिजिट मात्र थिएन। विशेष गरी मापसे गरेका पुरुषहरूलाई टार्गेट गर्ने, सडकमै अश्लील हर्कत गर्ने र मोलमोलाइ गर्ने, नेपालमा कानूनले अवैध मान्ने यौन व्यवसायका लागि युगान्डाबाट नेपाल आएका २० जना महिलाहरु पक्राउ परेपछि ठमेलको अस्थित्व र ऐतिहासिकतामाथिको प्रश्न पेचिलो बनेको छ ।
युगाण्डाका सेक्स वर्कर कसरी आइपुगे काठमाडौं ?
उनीहरुको उमेर २४ देखि ४७ सम्म छ। गरिब मुलुक युगाण्डाबाट आएका उनीहरु सबै भिजिट भिषामा नेपाल आएको देखिन्छ । ३ महिनाको भिजिट भिषामा आएका उनीहरु आपसमा परिचित पनि छन् । भिजिट भिषामा आएपनि उनीहरुको सबैको नेपाल बस्ने समय बाँकी छ ।
उनीहरु सबै डिभोर्सी र श्रीमानसंग सम्बन्ध बिग्रीएका महिला भएको खुलेको छ । उनीहरुले युगाण्डामा आफ्नो पारिवारिक अवस्था कमजोर भएकाले नेपाल आएको बताएका छन् ।
नेपाल आइसकेपछि विभिन्न होटेलमा बसेर उनीहरुले सेक्स वर्करको रुपमा काम गर्न थाले। उनीहरुले अंग्रेजी राम्रोसंग बोल्न समेत जानेका छन् ।
गुगलमा नेपालबारे जानकारी भएर आफुहरु आएको उनीहरुले बताएका छन्। उनीहरु चीन, भारत, टर्की र माल्दिभ्स समेत गएको खुलेको छ ।
मापसे गरेकालाई टार्गेट !
प्रहरी अनुसन्धानका क्रममा उनीहरु दिउँसो सक्रिय नहुने गरेको पाइएको छ । रातको समयमा उनीहरु सबैजसो ठमेल लगायतका क्षेत्रमा निस्कने गरेका थिए । राति पनि ११ बजेपछि मात्रै उनीहरुको चहलपहल हुने गरेको पाइयो ।
विभिन्न कुनामा बसेर उनीहरुले पुरुषलाई जिस्काउने लगायतका काम गर्ने गरेको देखियो । उनीहरुको अनैतिक क्रियाकलाप देखेपछि प्रहरीले प्रकाउ गरेको छ । अनुसन्धानमा क्रममा उनीहरुले मापसे अर्थात मादक पदार्थ सेवन गरेका पुरुषलाई टार्गेट गर्ने गरेको पाइएको छ ।
उनीहरुले मौका पाए अध्यारो कुनामै लगेर सडक छेउमै समेत अश्लील हर्कत गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुले आफ्ना यौन ग्राहकलाई सडकमै रमाइलो गर्नेदेखि होटलमा आफु बसेको कोठासम्म लैजाने गरेको पाइएको छ ।
उनीहरुले कम्तिमा १५ सय रुपैयाँबाट बार्गेनिङ गर्ने गरेको खुलेको छ। उनीहरुले पहिलोपटक नेपाल आएको पनि अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिनको म्याद थप गरी प्रहरी वृत्त लैनचौरले यस घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ। नेपालमा यौन व्यवसाय प्रतिबन्धित छ। तर ठमेलमा यो ओपन सेक्रेट जस्तै बनेको छ। भिजिट भिसामा आएर यस्ता गतिविधिमा संलग्न हुनुले नेपालको अध्यागमन सुरक्षामाथि पनि प्रश्न उठाएको छ ।
पर्यटकको केन्द्र मानिने ठमेलको साख जोगाउनु प्रहरीको मात्र होइन, यहाँका व्यवसायी र स्थानीयको पनि उत्तिकै दायित्व हो। भिजिट भिसाको आडमा हुने यस्ता अनैतिक गतिविधिले नेपालको पर्यटन उद्योगलाई नै बदनाम गराउन सक्छ। त्यसैले, यस्ता गिरोहमाथि कडा निगरानी र कानुनी कारबाही आजको आवश्यकता हो ।
अनलाइनमै भेटिन्छन सेक्स वर्कर
विभिन्न नामका अनलाइन प्लेटफर्ममा यौनका लागि बार्गेनिङ हुने गर्छ । अनइालनमा युवतिहरुको फोटो, सम्पर्क नम्बर र विस्तृत विवरण राखिएको हुन्छ । उनीहरुले ग्राहकलाई कस्तो सेवा दिन्छन र रकम कसरी अशुल्छन भन्ने विषय समेत राखिएको हुन्छ । यौन व्यवसायमा विदेशी महिलाहरुले होटेलमा बोलाउने गर्छन भने उनीहरुलाई बुकिङ गर्नुपर्ने हुन्छ ।
यसरी बुकिङ गर्दा एडभान्स रकम समेत लिने र उनीहरुको एजेन्टले रकम बुझेर कुपन दिएपछि उनीहरु भेट्न आउने गरि चेन नै निर्माण गरेको देखिन्छ । सुरक्षा निकायले सडकमा बार्गेनिङ गर्नेलाई पक्राउ गरेपनि यौन व्यवसाय अनलाइनमार्फत समेत हुने गरेकाले यस्ता गतिविधि रोक्न आवश्यक तयारी गर्नुपर्ने देखिन्छ ।
