News 24 Television
पशु स्वास्थ्य, महामारी नियन्त्रण, खाद्य सुरक्षा, जलवायु परिवर्तनबारे छलफल

भैरहवा । रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन–२०२६ हुने भएको छ । नेपालमा पशु स्वास्थ्य, प्रविधि तथा अनुसन्धानको समन्वित विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल भेटेरिनरी एशोसियसनको आयोजना र एशोसियसन लुम्बिनी प्रदेशको व्यवस्थापनमा सम्मेलन हुन लागेको हो । 

यही चैत्र २७ र २८ गते रुपन्देहीको मणिग्राममा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुने भएको छ । ‘दिगो पशुधन र खाद्य सुरक्षाको लागि स्वास्थ्य मार्ग’ भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनले मानव, पशु र वातावरणबीचको अन्तरसम्बन्धलाई वैज्ञानिक तथा व्यवहारिक दृष्टिकोणबाट उजागर गर्ने लक्ष्य राखेको आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धानकर्ता, विद्यार्थी तथा सम्बन्धित सरोकारवाला निकायहरूको सहभागिता रहनेछ ।  सम्मेलनमा पशु सेवा विभागका तर्फबाट समग्र पशुपन्छी क्षेत्रको वर्तमान अवस्था तथा आगामी कार्यदिशा सम्बन्धी बृहत् नीतिगत प्रस्तुति रहनेछ । विभिन्न देशका प्रतिष्ठित विज्ञहरूले पशु स्वास्थ्य, महामारी नियन्त्रण, खाद्य सुरक्षा, जलवायु परिवर्तन तथा नवीन प्रविधि सम्बन्धी विषयहरूमा आफ्नो प्रस्तुति दिनेछन् । 

सम्मेलनमा १५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत हुने, ७ भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहने तथा १५ भन्दा बढी अन्तर्राष्ट्रिय आमन्त्रित वक्ताहरूले आफ्नो धारणा राख्ने छन् ।

अर्थतन्त्र र रोजगारीको प्रमुख आधारको रूपमा रहेको पशुपन्छी क्षेत्रमा विद्यमान समस्या, चुनौती तथा सुधारका उपायहरूबारे पनि विस्तृत बहस हुने नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष केदार सुवेदीले जानकारी दिए ।

सम्मेलनमा पशु स्वास्थ्य सम्बन्धी प्रदर्शनी स्टलहरू राखिने छ भने पशु स्वास्थ्य, औषधि, खोप, आहार तथा आधुनिक प्रविधिहरू सम्बन्धी नवीनतम जानकारी सहभागीहरूलाई प्रदान गरिनेछ । 

हालसम्म २५० जना सहभागीहरूले प्रारम्भिक नाम दर्ता गरेको आयोजकले जनाएको छ । स्वास्थ्य अवधारणालाई व्यवहारमा उतार्दै पशुपालन र खाद्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै भविष्यका लागि सशक्त मार्गनिर्देशन प्रदान गर्ने विश्वास आयोजकको छ । ५५ वर्ष अघि स्थापना भएको यो संस्थामा दुई हजार ५ सय बढी भेटेरिनरी चिकित्सकहरु आबद्ध छन् ।

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update