काठमाडौँ । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सामाजिक सञ्जालमा महिलामाथि भइरहेको भद्दा र अमर्यादित टिप्पणीप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् । लोकतन्त्रमा असहमतिलाई सम्मान गर्ने संस्कार हुनुपर्नेमा महिलाको चरित्र र शरीरलाई लिएर हुने प्रहारले समाजको सभ्यतामाथि नै प्रश्न उठाएको उनको तर्क छ।
आफ्नो आधिकारिक सामाजिक सञ्जालमा एक धारणा सार्वजनिक गर्दै सांसद गुरुङले विचारलाई तर्क र तथ्यले खण्डन गर्नुको सट्टा यौनजन्य हिंसाको धम्की र चरित्र हत्यालाई बहसको अस्त्र बनाइनु पितृसत्तात्मक मानसिकताको निकृष्ट स्वरूप भएको उल्लेख गरेकी छन् ।
‘विचारलाई तर्क र तथ्यका आधारमा खण्डन गर्नुको सट्टा शरीर, चरित्र वा यौनजन्य हिंसाको धम्कीलाई ‘बहसको अस्त्र’ बनाउनु बौद्धिक दरिद्रता हो, उनले लेखकी छन्, ‘यस्तो प्रवृत्तिले समावेशी सार्वजनिक विमर्शको ढोकै बन्द गरिदिन्छ।’
लोकतन्त्र कि भीडतन्त्र ?
डिजिटल माध्यममा व्यक्त हुने लाञ्छनायुक्त अभिव्यक्तिले लोकतन्त्रलाई भीडतन्त्रमा रूपान्तरण गर्ने जोखिम बढेकोतर्फ उनले सचेत गराएकी छन् । लोकतन्त्रको वास्तविक सौन्दर्य विचारको बहुलता र असहमतिलाई स्वीकार गर्ने संस्कारमा रहने उनको ठम्याइ छ।
सांसद गुरुङले अगाडि भनेकी छन्, ‘लोकतन्त्र साँचो अर्थमा त्यतिबेला मात्र जीवन्त हुन्छ, जब राज्य र समाज दुवैले फरक मत राख्ने प्रत्येक नागरिकको आत्मसम्मान र सुरक्षाको पूर्ण प्रत्याभूति गर्छन्।’
सांस्कृतिक चेतनाको खाँचो
भौतिक विकास र कानुनी साक्षरताले मात्र समाज सभ्य नहुने भन्दै उनले नागरिकमा विमति सुन्ने धैर्यता र सहिष्णुताको विकास हुनुपर्नेमा जोड दिएकी छन् । सभ्य समाजको पहिचान भाषणमा नभई दैनिक व्यवहार र प्रयोग गरिने भाषामा झल्किने भन्दै उनले अरूको आत्मसम्मानमा ठेस लगाउने कार्यको निन्दा गर्न आह्वान समेत गरेकी छन् ।
स्वतन्त्रताको दुरुपयोग गर्दै भइरहेका यस्ता अमर्यादित कार्यविरुद्ध एकजुट हुन र सभ्य समाज निर्माणमा लाग्न उनले सम्पूर्ण नागरिकलाई आग्रह गरेकी छन् ।
