रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनी भित्र्याइएको ६ वर्षपछि विद्युतीय सवारी संचालनको तयारी गरिएको छ । सुरुमा सेतो नम्बर प्लेटबाट कसरी चलाउने भन्ने विवाद थियो । त्यसपछि कार्यविधि नै बने छ । बेलाबेला सरकारी निर्देशनपछि दुईचार दिन संचालन गरेर विद्युतीय सवारी यत्तिकै थन्काइएको गरिन्थ्यो । पछिल्लो पटक प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको चासो पछि लुम्बिनीमा विजुली गाडी संचालन गर्ने तयारी सुरु भएको हो ।
२०७७ मंसिर–पुसमा गरी एसियाली विकास बैंकको अनुदानमा क्लिन इनर्जी प्रोजेक्ट अन्तर्गत अत्याधुनिक १४ वटा ट्याक्सी (भ्यान) र ५ वटा विद्युतीय बस लुम्बिनी ल्याइयो ।
२०७६ मै नेपाल ल्याइए पनि काठमाडौं ल्याएर एक वर्ष यत्तिकै थन्क्याएर राखियो । त्यसको एक वर्षपछि लुम्बिनी ल्याइएका १३ करोड रुपैयाँ बराबरका बस तथा ट्याक्सी यहाँ ल्याए पनि सञ्चालनको मोडालिटीका विषयमा कुरा नमिलेपछि अझै अलपत्र छन् । तत्कालीन समयमा सवारी ल्याउन सरकारले साढे ३ करोड भन्सार शुल्क ब्यहोरेको थियो ।
प्रदूषण न्यूनीकरण गरेर बुद्ध जन्मस्थल भ्रमणमा आएका पर्यटकलाई सुविधा दिने उद्देश्यले लुम्बिनी ल्याइएका ५ वटा बिजुली बस लामो समयदेखि अलपत्र छन् । तर, विभिन्न बहानामा संचालनमा ढिलासुस्ती गरिएको छ । पछिल्लोपटक प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले चासो देखाएपछि बुधबारबाट एउटा बस संचालनमा ल्याइएको छ ।
लामो समय संचालन नुहँदा सबै बसका एसि विग्रिसकेका छन् । तत्कालका लागि एसि नबनाइकन मुख्य ढोका खुल्ला छाडेर बस संचालन गरिएको हो ।
खुल्ला आकास मुनी यत्तिकै वर्षौंदेखि थन्किएकाले बस र ट्याक्सी घामपानीले विग्रिएका छन् । भ्यान कोषका पदाधिकारी र माथिल्लो तहका कर्मचारीले प्रयोग गरिरहेका छन् । केही विग्रिएपछि थन्क्याइएको छ ।
बसका एसि चल्दैनन् भने ६ वटा ट्याक्सी विग्रिएर ग्यारेजमा थन्क्याइएको छ । एउटा बसको सिसा फुटेको छ । लुम्बिनीमै निर्माण गरिएको चार्जिङ स्टेशन लोमो समय प्रयोगबिहीन हुँदा मर्मत गर्नुपर्ने छ । बस–भ्यान मर्मतका लागि न विकास कोषसँग प्राविधिक छन् न त लुम्बिनी आसपास नै ।
जसले गर्दा प्रधानमन्त्री सचिवालयको निर्देशनले पनि नियमित बस–भ्यान संचालनमा कठिनाई छ । तत्कालका लागि बुधबारबाट लुम्बिनी–भैरहवा एउटा बस संचालन गरिएको छ । बिहीबार अर्को बस पनि संचालनको तयारी छ ।
दुई साताअघि पर्यटन मन्त्रालयले सचिवस्तरीय निर्णय गराएर लुम्बिनी विकास कोषअन्तर्गत रहेका बस नागरिक उड्डयन प्राधिकरणमा पठाउने प्रक्रिया थालिएको थियो । तर, सोमबार प्रधानमन्त्री कार्यालयबाट फोन गरेर बसबारे चासो राख्दै लुम्बिनीमै चलाउने व्यवस्था गर्न निर्देशन दिएपछि बस काठमाडौं पठाउने प्रक्रिया रोकिएको छ । तर, मर्मत गर्नुपर्ने र केही मर्मतका सामान नेपालमा नपाइने भएकाले नियमित संचालनका लागि कठिन भएको कोषको पदाधिकारी बताउँछन् । कोषका अनुसार तत्काल यी सवारी मर्मत गर्न एक करोड बढी खर्च लाग्छ ।
उक्त रकम कोषसँग छैन । लुम्बिनी भित्रिएको १६ महिनापछि बस र भ्यानले सरकारी नम्बर प्लेट पाएपछि पर्यटन मन्त्रालयको नाममा नामसारी भयो । तर, सरकारी प्लेट भाडामा लगाउन नमिल्ने भन्दै पर्यटकका लागि प्रयोग गर्न मिलेन । लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलका ४ जना कानुन पढ्ने विद्यार्थीले तुलसीपुर उच्च अदालत बुटवल इजलासमा रिट दायर गरेपछि बस र भ्यानको नम्बर प्लेट पर्यटक चढ्ने हरियो बनाइएको थियो । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि तत्काल कार्यविधि विनै बस चलाइएको छ ।
निःशुल्क चलाउन सुरु गरिएका बसले कति भाडा लिने भन्ने टुंगो छैन । संचालनको मोडालिटी नै नबनेकाले विगतमा जस्तै केही दिन संचालन गरेर रोक्नुपर्ने अवस्था आउन सक्ने कोषका कर्मचारीहरु बताउँछन् । लुम्बिनीलाई विभिन्न बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँग जोड्न र त्यहाँ आवतजावतका लागि सजिलो बनाउन बस सञ्चालन गर्न पठाइएको थियो । बस र ट्याक्सी अत्याधुनिक छन् ।
ठूलो बसमा १९ सिट छ । सानो भ्यान ५ सिटे हो । पूर्ण वातानुकूलित बस अपांगतामैत्री छन् । २ नम्बर गेटअगाडि एडीबीकै सहयोगमा अत्याधुनिक चार्जिङ स्टेसन पनि बनाइएको छ । तर चार्जिङ स्टेसन तत्काल मर्मत गर्नुपर्ने अवस्थामा छ ।
