रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीसहित यससँग सम्बन्धित चार पालिकाको आध्यात्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य विकास गर्न विश्व बैंकले ठूलो आर्थिक सहयोग स्वीकृत गरेको छ ।
स्थानीय बासिन्दालाई आय आर्जनसित जोडेर बृहत्तर लुम्बिनी क्षेत्र परियोजना कार्यान्वयन गर्न विश्व बैंकको बोर्ड बैठकले ८५ मिलियन डलर स्वीकृत गरेको हो । यसबाट आर्थिक तथा पर्यटन विकास हुने भन्दै जनप्रतिनिधि र पर्यटन व्यवसायीले खुशी व्यक्त गरेका छन् ।
मार्च १३ मा अमेरिकाको वासिङ्टन डीसीमा बसेको विश्व बैंकको बोर्ड बैठकले लुम्बिनी क्षेत्रको वृहत्तर विकासका लागि भन्दै साढे १२ अर्ब ६६ लाख रुपैयाँ ऋण सहायता स्वीकृत गरेको छ ।
लुम्बिनी र यससँग सम्बन्धित पालिकाहरुमा आध्यात्मिक, सांस्कृतिक र पर्यटकीय विकासका साथै स्थानीयलाई आयआर्जनसँग जोड्न यो रकम स्वीकृत गरिएको हो । उक्त रकमबाट पाँच वर्षको अवधिका लागि परियोजना संचालन हुनेछ । लुम्बिनी विकास कोषका अनुसार अहिलेसम्म लुम्बिनी क्षेत्रमा आएको यति ठूलो सहयोग रकम पहिलो पटक हो ।
परियोजना अन्तर्गत ग्रेटर लुम्बिनी क्षेत्र विकासका नाममा बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक स्थल रहेका क्षेत्रमा काम गरिनेछ । विश्व बैंकको उक्त निर्णय अर्थ मन्त्रालय पुगेपछि त्यहाँबाट ऋण सम्बन्धी सम्झौताको मस्यौदा कानुन मन्त्रालय पठाइएको छ ।
कानुन मन्त्रालयबाट फिर्ता आएपछि मन्त्रिपरिषद्ले ऋण स्वीकार गर्ने निर्णय गर्नासाथ कार्यान्वयनमा जाने छ । परियोजना अन्तर्गत चार ठाउँमा काम हुनेछन् । बुद्ध जन्मस्थल लुम्बिनीको एक वर्गकिलोमिटर वाई एक वर्ग किलोमिटरको सेक्रेट गार्डेन क्षेत्र, कपिलवस्तुको शाक्य वंशीय राजधानी तिलौराकोट, पश्चिम नवलपरासीको बुद्धको अस्तुधातु रहेको रामग्राम र बुद्ध मावली रुपन्देहीको देवदहमा काम हुनेछन् ।
लुम्बिनी परिसरमा रहेको लुम्बिनी म्युजियम पनि यसमा समेटिनेछ । परियोजनाबाट पूर्वाधार सुधार र गन्तव्य विकास, गन्तव्य योजना र परिकल्पना तथा स्थानीय आर्थिक विकास र निजी क्षेत्रको संलग्नतालाई सहयोग पुग्ने गरी कार्ययोजना बनाएर काम गरिनेछ ।
परियोजनाअन्तर्गत लुम्बिनी पवित्र उद्यानभित्र आउने तीर्थयात्री र पर्यटकलाई शौचालय सुविधा, धुप÷बत्ती बाल्ने स्थान निर्माण, जुत्ताचप्पल फुकालेर राख्ने ठाउँ बनाइने र मायादेवी मन्दिर परिसरको सुन्दरीकरणका काम छन् ।
विश्व बैंकले लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह, रामग्राम र कपिलवस्तु नगरपालिकालाई समेटेको छ । स्थानीय पालिकालाई समेटेर ठूलो आर्थिक सहयोग आउने भएपछि जनप्रतिनिधि र पर्यटन व्यवसायीले खुशी व्यक्त गरेका छन् ।
परियोजनाबाट तिलौराकोट, रामग्राम र देवदहमा राम्रो भिजिटर सेन्टर, संरक्षणमैत्री बसपार्क, पार्किङ स्थल र बाटोघाटो बनाइनेछ । वाक–वे, शौचालय, डिजिटल बोर्ड र ट्रान्जिवल साइनहरु राखिनेछ ।
खानेपानी, सरसफाइ र ढल निकासका काम पनि गरिनेछ । तिलौराकोटमा अधिग्रहण गरिएको जग्गा संरक्षण र विकासका काम पनि गरिने छ । त्यस्तै बुद्धसँग सम्बन्धित स्थल देवदह र रामग्राममा सडकको स्तरोन्नति र सञ्जालीकरणबाट पनि जोडिनेछ ।
स्थानीयलाई रोजगारीको अवसर सिर्जना गर्दै पर्यटन प्रवद्र्धनका काम गरिनेछ । एउटा नगरपालिकालाई तीन मिलियन डलर विनियोजन गरेर काम गर्ने भनिएको छ । तर, कामको प्रभावकारिता र उपयोगितालाई हेरेर बढाउन सक्ने पनि भनिएको छ ।
कुल ८५ मिलियिन डलरमध्ये बृहत्तर लुम्बिनी विकासका काममा ४५ मिलियन डलर छुट्याइएको छ । यसले बजेट अभावकै कारण विकासबाट पछाडी परेका बृहत्तर लुम्बिनी क्षेत्रका सबै ठाउँको मुहारै फेर्ने अपेक्षा गरिएको छ ।
