News 24 Television
वर्सेनी तराई–मधेसको पीडा, भारतको कारण डुम्दै नेपाली भूमि

रौतहट । लालबकैया र बागमती नदिको बाँध जीर्ण बनेपछि बर्सेनि बर्षायाममा डुबानमा पर्ने रौतहटको सदरमुकाम गौरका जनता झन चिन्तित बनेका छन् । 

गौर भन्सार कार्यालयदेखि पूर्व र दक्षिण दशगजा नजिकै भारततर्फ रहेका बाँधलाई मर्मत तथा सम्भारको नाममा भारतीय पक्षले बाँधको उच्चाइ थप्ने र बाँधलाई झन मजबुत गर्ने कार्य तीव्र गतिमा अघि बढाएपछि सदरमुकाम गौर डुबानमा पर्ने डरले स्थानीय चिन्तित बनेका हुन् । 

रौतहटको राजपुर, दुर्गा भगवति, माधबनारायण, राजदेबीबाट आएको लालबकैया र बागमती नदिको बाढीको पानीले गौर नगरपालिका हरेक वर्ष वर्षायाममा डुबानमा पर्ने गरेको छ ।

भारतले २०३२ सालमा आफ्नो भूमि बैरगनिया लगायतका बिहारका सहर बचाउन सीमा क्षेत्रमा १५ फिट अग्लो झन्डै ३१ किलोमिटर लामो बाँध बनाएपछि नेपालतिर डुबान सुरु भएको हो । 

डुबानबाट बर्षायाममा सदरमुकाम गौर डुबानमा पर्ने र ब्यापार ब्याबसाय चौपट हुने, विभिन्न पर्यटकीय भत्किने, बालीनाली नष्ट हुने, भौतिक संरचनाहरु बगाउनुका साथै ठूलो धनजनको क्षती हुँदै आएको छ । 

दशगजा क्षेत्र आसपास कुनै किसिमको भौतिक संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय प्रावधान रहेपनि दशगजादेखि करिब ३०÷४० मिटर पर बाँध निर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ । भारतले मर्मतको बहानामा बाँध अझै अग्लो बनाएको र साइफन समेत बन्द गर्ने काम भइरहेको स्थानीय बताउँछन् । 

ंजसपा नेता योगेन्द्र यादवले भारत छिमेकी भएको नाताले भारत सरकारले नेपाली जनताको पीडा र समस्यालाई बुझिदिनु  पर्ने र दुबै देशका प्रतिनिधिले कुटनितिक पहल थाल्नु पर्ने बताए । रौतहट क्षेत्र न.१ को प्रदेशसभा सदस्य नागेन्द्र साहले भने जिर्ण बनेको लालबकैया र बागमती नदिको बाँधलाई नेपाल सरकारले पुनः निर्माण गरे यो समस्या सामाधान हुने बताउँछन् । 

भारतीय पक्षले जारी राखेको बाँध मर्मत र निर्माणको विषय दिल्ली र काठमाडौको भएको भन्दै स्थानीय अधिकारीहरु प्रतिक्रिया दिन चाँहदैनन् । 

बाँधकै कारण सदरमुकाम गौर मात्रै होईन इश्नाथ नगरपालिकाको बैरिया, औरैया र बन्जरहा गाउँ बर्सेनि डुबानमा पर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update