ओखलढुङ्गा । पूर्वी पहाडी जिल्ला ओखलढुंगा भौगोलिक रूपमा दुर्गम र विकट क्षेत्रका रूपमा परिचित छ । यही जिल्लाको प्रशासनिक तथा व्यापारिक केन्द्रका रूपमा रहेको सदरमुकाम तीव्र रूपमा विस्तार भइरहेको छ । तर योजनाविहीन शहरीकरण, साँघुरा सडक र मापदण्डविहीन बनेका संरचनाका कारण सदरमुकाम क्षेत्र अस्तव्यस्त देखिन्छ । यही अव्यवस्थामाथि जटिल बन्दै गएको अर्को समस्या हो ट्राफिक ब्यवस्थापन । दिनप्रतिदिन बढ्दै गएको सवारी चापले ट्राफिक व्यवस्थापन झनै चुनौतीपूर्ण बन्दै गएको छ ।
भौगोलिक रूपमा असहज बनोट, साँघुरा सडक र अव्यवस्थित बजार संरचनाले ओखलढुंगाको सदरमुकाममा ट्राफिक व्यवस्थापनलाई चुनौतीपूर्ण बनाएको छ । सीमित क्षेत्रफलमा फैलिएको बजार र अनियन्त्रित रूपमा बढ्दो सवारी साधनका कारण यहाँको यातायात प्रणाली दिनप्रतिदिन अस्तव्यस्त बन्दै गएको छ । सडक साँघुरा हुनु, निश्चित पार्किङ स्थलको अभाव र बजार क्षेत्रमै जथाभावी सवारी रोकिने प्रवृत्तिले समस्या थप चर्किएको हो ।
विशेषगरी सदरमुकामको मिलनचोक, जि.स.स.टोल र रमाइलोडाँडा क्षेत्रमा सवारी चाप उच्च रहने गरेको छ । जसले गर्दा दैनिक आवतजावतलाई कठिन मात्रै होइन, दुर्घटनाको जोखिम पनि उक्तिकै बढाईरहेको छ ।
सदरमुकाम क्षेत्रको ट्राफिक व्यवस्थापन सुधारका लागि यसअघि पनि प्रयास भने नभएका होईनन् । तर ठोस निर्णय र प्रभावकारी कार्यान्वयन नहुँदा समस्या उस्तै छ । एकातर्फ सवारीधनीहरू तोकिएको स्थानमा पार्किङ गर्न आनाकानी गर्छन भने अर्को तर्फ आफ्नै पसलअगाडि सवारी रोक्न नदिँदा व्यापारमा असर पर्ने ब्यवसायीहरुको बुझाई छ ।
ट्राफिक व्यवस्थापनको विषयमा लगातार बहस र छलफल भने जारी नै छ । आगामी दिनहरुमा सम्बन्धित निकायहरूले अव्यवस्थित पार्किङ नियन्त्रण, सडक अतिक्रमण हटाउने र सवारी व्यवस्थापनलाई कडाइका साथ लागू गर्ने प्रयास पनि गरिरहेका छन ।
सदरमुकामको ट्राफिक व्यवस्थापन सुधारका लागि प्रयासहरू जारी छन । तर कार्यान्वयन अझै कमजोर देखिएको छ । सरोकारवाला मात्र नभई स्थानीयको पनि सक्रिय सहभागिता रहँदा मात्रै सवारी व्यवस्थापन प्रभावकारी हुन सक्ने देखिन्छ ।
