बारा । बारा जिल्लामा पछिल्लो समय सवारी दुर्घटनालाई नियन्त्रणमा लिन जिल्ला ट्राफिक प्रहरी कार्यालयले सचेतनामूलक तथा निगरानीमुखी अभियान सञ्चालन गरेको छ । तीव्र गतिमा बढ्दो सवारी चाप, सडकको कमजोर अवस्था, चालक तथा पैदल यात्रुको लापरवाहीजस्ता कारणले दुर्घटनाका घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले विभिन्न रणनीतिक कार्यक्रम अघि बढाएको हो ।
सडक दुर्घटनाबाट वर्षेनी सैयौंको ज्यान जाने गर्छ । दुर्घटना न्यूनीकरणका प्रहरीले सचेतनामुलक कार्यक्रमहरु पनि गरि नै रहेका हुन्छन् । तर पनि दुर्घटना भन्दै कम भएको देखिदैन । त्यसैले प्रहरीले मात्र नभई आम नागरिकले दुर्घटना न्यूनीकरणका लागि पहल गर्न आवश्यक छ । काठमाडौं उपत्यकाका साथै देशैभर जिल्ला जिल्लामा ट्राफिक सचेतना कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।
विशेषगरी दक्षिणी भेग भारतसँग जोडिएको खुल्ला सीमावर्ती क्षेत्रमा चालकहरुले ट्राफिक नियम पालना नगर्दा दुर्घटना बढी हुने गरेको प्रहरीको भनाई छ । त्यसैले जिल्ला ट्राफिक प्रहरी बाराले सचेतनामूलक तथा निगरानीमुखी अभियान सञ्चालन गरिरहेको छ । सीमावर्ती क्षेत्रमा लक्षित गरी हेल्मेट अनिवार्य, सडक सुरक्षा, लेन अनुशासन तथा पैदल यात्रीमैत्री व्यवहारसम्बन्धी ट्राफिक प्रहरीको अभियान छ ।
चालकको लापरवाही, तीव्र गति, मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति मात्र नभई सडकको भौतिक अवस्थाका कारण पनि सडक दुर्घटना हुने गरेका छन् । कतिपय स्थानमा साघुँरा सडक, खाल्डाखुल्डी, सडक पेटीको अभाव तथा सडक किनारमै गाईवस्तु बाँध्ने वा खुला छाड्ने जस्ता कार्यले पनि दुर्घटना निम्तिने गरेको छ ।
यसका साथै मादक पदार्थ तथा लागू पदार्थ सेवन गरि सवारी चलाउँदा पनि दुर्घटना हुने गरेका छन् । अभियान अन्तर्गत आकस्मिक रुपमा मापसे र लापसे चेकिङ गर्ने गरिएको ट्राफिक प्रहरी प्रमुख केसी बताउँछन् ।
सीमावर्ती क्षेत्रमा ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानको स्थानीय जनप्रतिनिधिहरुले प्रशंसा गरेका छन् । सवारी सञ्चालनका क्रममा सुरक्षा सचेतनाहरु नपनाउँदा दुर्घटना हुने गरेका छन् । मोटरसाइकल चलाउँदा चालकले प्रयोग गर्ने हेलमेटको महत्वबारे पनि ज्ञान नहुँदा धेरैले ज्यान गुमाएको स्मरण गर्दै सेचतना आवश्यक रहेको जनप्रतिनिधिहरुको बुझाई छ । ट्राफिक सचेतना अभियानको जनप्रतिनिधिहरुका साथै स्थानीयले खुलेर प्रशंसा गरेका छन् ।
अनियमित रूपमा सञ्चालन हुने ई–रिक्साले पनि दुर्घटनाको जोखिम बढाएको हुँदा बारा ट्राफिक प्रहरीले ई–रिक्सा सञ्चालनमा पनि कडाइ गरेको छ । ई–रिक्सा चालकहरूलाई अनिवार्य रूपमा चालक अनुमति पत्र (लाइसेन्स) लिन, सम्बन्धित नगरपालिकामा दर्ता गर्न तथा तोकिएको भित्री सडकखण्डमै मात्र सवारी सञ्चालन गर्न निर्देशन दिइएको छ ।
बारा ट्राफिक प्रहरीले सञ्चालन गरेको सवारी दुर्घटना न्यूनीकरण अभियानले सडक सुरक्षाप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । तर दीगो रूपमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीको प्रयाससँगै नागरिकको सचेतना, जिम्मेवारीपूर्ण व्यवहार र सम्बन्धित निकायहरूको समन्वय अपरिहार्य छ ।
