पर्सा । लामो समयदेखि अन्योलमा रहेको त्रिभुवन राजपथअन्तर्गत वीरगंजको मुख्य सडक विस्तार कार्य अन्ततः आइतबार बिहानबाट औपचारिक रूपमा सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा बिहान सबेरैदेखि सडक सीमाभित्र परेका अतिक्रमित संरचनाहरू हटाउँदै अभियान शुरु गरिएको हो ।
वीरगंज महानगरपालिका, सडक डिभिजन कार्यालय, स्थानीय प्रशासन र सुरक्षानिकायबीच समन्वय गरी अतिक्रमण हटाउने काम भइरहेको छ । प्रशासनले चरणबद्ध रूपमा संरचना हटाउँदै सडक विस्तार अभियानलाई निरन्तरता दिने जनाएको छ ।
प्रशासनले शनिबार साँझ नै सूचना जारी गर्दै आइतबार बिहान साढे ४ बजेसम्म सडकको दायाँ–बायाँ २५÷२५ मिटर क्षेत्र खाली गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार आइतबार बिहानैदेखि डोजर र एक्साभेटर प्रयोग गरी घर, टहरा तथा अन्य संरचनाहरू हटाउन थालेको छ ।
यता सडक विस्तार कार्यप्रति वीरगंज मुख्य सडकमा व्यापार गरेका अधिकाँश व्यापारीहरुले आक्रोश पोखेका छन् । विना जानकारी अचानक रातभरिमा सामान हटाई पसल खाली गर्न जिल्ला प्रशासन कार्यालय पर्साले उर्दी जारी गरेपछि आफूहरु सडकमा पुगेको व्यापारीहरुको गुनासो छ ।
२४ घण्टाको पनि समय नदिई अचानक संरचना तोड्ने प्रशासनको निर्णयप्रति व्यापारीहरुको व्यापार धरासयी हुनुका साथै लगानी पनि डुबेको व्यापारीहरुको गुनासो छ ।
अर्कोतर्फ वीरगंजका राजनीतिकर्मी तथा समाजका अगुवाहरुले १३ वर्षपछिको संघर्ष सफल भएको बताएका छन् ।
उनीहरुले वीरगंजको विकासको लागि सडक फराकिलो आवश्यक रहेको भन्दै सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका संरचनाहरु सरकारले हटाएकोले अब ‘वैभव वीरगंज’ को परिकल्पना साकार हुने बताएका छन् ।
दिनप्रतिदिन वीरगंजमा बढ्दै गएको जनसंख्या वृद्धिले मुख्य सडक साँघुरो भएको र वीरगंज विकासित हुन नसकेको अवस्थामा सरकारको सडक फराकिलो गर्ने निर्णय स्वागतयोग्य रहेको बताएका छन् ।
यसअघि करिब १३ वर्षदेखि रोकिएको यो योजना सर्वोच्च अदालतको फैसलापछि कार्यान्वयनमा आएको हो । २०८१ फागुन २८ गते सर्वोच्च अदालतले सडक विस्तारसम्बन्धी मुद्दामा सरकारको पक्षमा फैसला गर्दै जग्गाधनीहरूले दायर गरेको रिट खारेज गरेपछि योजना अघि बढ्ने बाटो खुलेको थियो ।
रिट निवेदकहरूले मुआब्जा तथा वैकल्पिक व्यवस्थाको माग गर्दै मुद्दा दायर गरेका थिए । उनीहरूले जग्गा प्राप्ति ऐन, २०३४ र सार्वजनिक सडक ऐन, २०३१ अनुसार प्रक्रिया नअपनाइएको दाबी गरे पनि अदालतले उक्त दाबी अस्वीकार गरेको छ ।
अब अतिक्रमण हटाउने कार्यसँगै वीरगंजको मुख्य सडकलाई व्यवस्थित, फराकिलो र सुरक्षित बनाउने लक्ष्यका साथ विस्तार अभियानलाई तीव्रता दिइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद दाहालका अनुसार नेपाल–भारत मितेरी पुलदेखि गण्डक चोकसम्मको सडक खण्डमा केन्द्र रेखाबाट दुवैतर्फ २५ मिटरभित्र पर्ने सम्पूर्ण संरचना हटाइँदैछ ।
सडक विस्तारलाई गति दिन भन्सार क्षेत्र, घण्टाघर, मुर्ली र चिनी मिल आसपासका स्थानहरूमा एकैसाथ काम अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय हेटौँडाका अनुसार विस्तार कार्यलाई प्रभावकारी बनाउन पाँच फरक स्थानबाट समानान्तर रूपमा काम सुरु गरिएको छ । डोजर र एक्साभेटरसहित करिब एक दर्जन उपकरण परिचालनमा रहेका छन् भने सुरक्षाको दृष्टिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
