रुपन्देही । घरायसी प्रयोजनका नाममा सिमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्राउने क्रमलाई नियन्त्रण गर्न रुपन्देहीका सीमावर्ती नाकामा कडाइ गरिएको छ ।
जसले गर्दा घरायसी प्रयोजनका नाममा व्यवसायिक कारोवारका लागि भारतमा खरिद गरी सामान ल्याउने र पटक पटक भारतीय बजारमा पुगेर सामान ओसार्ने पेशेवर तस्करी केही मत्थर हुँदै गएको छ । एक सय भन्दा बढीको सामान आयातमा भन्सार महशुल अनिवार्य गरिएको सीमावतीका बासिन्दा रुष्ट बनेका छन् भने निजी क्षेत्र उत्साहित बनेको छ ।
खुल्ला सीमाको फाइदा उठाउँदै रुपन्देहीको सीमा क्षेत्रबाट हुने अवैध आयातमा कडाइ गरिएको छ । जिल्ला राजस्व चुहावट नियन्त्रण समितिको बैठकले रुपन्देहीका सीमा नाकाहरुबाट दैनिक उपभोग्य सामानका नाममा हुने विना भन्सार आयातलाई रोक्ने निर्णय गरेपछि अहिले नाकामा कडाई गरिएको भन्सार कार्यालयले जनाएको छ ।
भारतबाट एक सय रुपैयाँभन्दा बढी मूल्यमा खरिद गरिएका सामानमा भन्सार महसुल अनिवार्य गरिएको छ । एक सयभन्दा माथिको सामानमा कडाइ गरिएको भन्दा पनि गैरभन्सार क्रियाकलापलाई रोक्न नाकामा कडाइ गरिएको जनाएको छ ।
एक सय भन्दा बढीको सामान आयातमा भन्सार महशुल अनिवार्य गरिएपछि सीमावर्ती भारतीय सहरमा किनमेल गर्न जाने नेपाली ग्राहकको संख्यामा कमी आएको छ ।
भन्सार कार्यालय अगाडि नाकामा खटिएका कर्मचारी र सुरक्षाकर्मीले सर्वसाधारणको झोला खानतलासीलाई तीव्रता दिएका छन् । सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानको भन्सार महसुल चुक्ता गरेर मात्र भित्र्याउन माइकिङ गरिरहेका छन् ।
घरायसी प्रयोजनका नाममा यात्रुले मुख्य नाकाबाटै ठूलो परिमाणमा गर्ने गरेको आयात रोक्न र खुल्ला सिमानाबाट हुने चोरीपैठारी नियन्त्रण गर्न सिमा नाकामा कडाइ गरिएको सरकारी पक्षको दावी छ । सिमावती क्षेत्रका बासिन्दाले सरकारको यस्तो निर्णयको विरोध गरे पनि रुपन्देहीको निजी क्षेत्रले स्वागत गरेको छ ।
सरकारले २०८२ जेठ १५ मा यात्रुले सीमा क्षेत्रबाट ल्याउन र लैजान पाउने सम्बन्धी सूचना राजपत्रमा प्रकाशन गरेको थियो । सरकारले यस्तो सूचना हेरक वर्ष जारी गर्छ । भन्सार महसुल ऐन, २०८१ को दफा १३ (३) को अधिकार प्रयोग गर्दै सरकारले हवाईमार्ग र स्थलमार्गबाट यात्रुले ल्याउन र लैजान पाउने लगायत सूची तोक्ने गर्छ ।
यात्रुले एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार लाग्ने व्यवस्था पुरानै हो । यसलाई यसपटक कार्यान्वयन मात्रै गरिएको सरकारी अधिकारीको दावी छ । तर, सीमा क्षेत्रका बासिन्दाले भने व्यवहारिकता समेत नहेरेर कडाई गर्नु गलत भएको भन्दै सच्याउन माग गरेका छन् ।
भारतसँग रुपन्देहीको करिब ७० किमी सीमा क्षेत्र छ । मुख्य भन्सारबाटै एक सय रुपैयाँ बढीको सामान ल्याउँदा भन्सार हुने गरे पनि अन्य क्षेत्रबाट भित्र्याउँदा समस्या निम्तिने गरेको स्थानीयको भनाई छ ।
उनीहरुले कम्तिमा ५ हजारसम्मको सामान ल्याउन पाउनुपर्ने माग गर्दै सरकारी निर्णय सच्याउन माग गरेका छन् । सिमानाकामा गरिएको कडाइपछि भन्सार हुँदै बैध रुपबाट व्यापारिक सामानको आयात बढ्न थालेको छ । तर, रातीको समयमा हुने तस्करी पूर्ण नियन्त्रण नभएसम्म मुख्य नाकामा गरिएको कडाईको खासै अर्थ नहुने व्यवसायी बताउँछन् ।
