News 24 Television
रैथाने परिकारको संरक्षण र प्रवद्र्धनमा जुटे सिन्धुपाल्चोकका युवा

सिन्धुपाल्चोक । आधुनिक जीवनशैली, विदेशी खानाको बढ्दो प्रभाव र तीव्र शहरीकरणका कारण लोपोन्मुख अवस्थामा पुगेका रैथाने परिकारको संरक्षण र प्रवद्र्धनमा सिन्धुपाल्चोकका आदिवासी जनजाति समुदाय जुट्न थालेका छन् । 

आफ्नो पहिचानसँग जोडिएका परम्परागत खानालाई जोगाउने उद्देश्यले उनीहरूले पाक कला सिक्ने, अभ्यास गर्ने र सार्वजनिक रूपमा प्रस्तुत गर्ने अभियान थालेका हुन् । 

सिन्धुपाल्चोकका मूलबासी तामाङ, नेवार, घले, गुरुङ, माझी र शेर्पा समुदायले आफ्नो मौलिक खानालाई पुनर्जीवित गर्ने प्रयासस्वरूप फुड फेस्टिभल आयोजना गरि पाककला अभियान थालेका छन् । 

सिन्धुपाल्चोकको चौतारामा आयोजित फुड फेस्टिभलमा सक्रिय सहभागिता जनाएका छन् । फेस्टिभलमा नेवार समुदायको योमरी र बारा, तामाङ समुदायको खाप्सी र फापरको रोटी, शेर्पा समुदायको नुन च्या, खाप्से, घले समुदायको भेडाको मासु, माझी समुदायको माछा तथा गुरुङ समुदायको परम्परागत परिकारहरू, आरुको चियाले आगन्तुकको ध्यान आकर्षित गरेका छन् ।

रैथाने परिकार पोषण र स्वादका हिसाबले अत्यन्त महत्वपूर्ण मानिन्छन् । तर पछिल्लो समय नयाँ पुस्तामा यस्ता खानाप्रति चासो घट्दै गएको छ । 

बजारमा विदेशी तथा फास्ट फुडको प्रभाव बढेसँगै परम्परागत खाना ओझेलमा परेको भन्दै सिन्धुपाल्चोकका जनजाति समुदाय तालिम, सीप विकास र यस्ता फेस्टिभलमार्फत परम्परागत खानाको प्रवद्र्धनमा लागेका हुन् । उनीहरुले जनजाति पोशाक र संस्कृतिको समेत प्रचार गर्न थालेका छन् ।

फेस्टिभलमा राखिएका गुन्द्रुक, सिस्नुको तरकारी, कोदोको रोटी, फापरको ढिँडो, सेलरोटी र माछाको अचारजस्ता परिकारले जनजातिको पहिचान बोकेको छ । यस्ता परिकारहरू केवल खाना मात्र नभई संस्कृति, परम्परा र जीवनशैलीसँग गहिरो रूपमा जोडिएका छन् । 

चौतारा साँगाचोकगढी नगरपालिकाको प्रवद्र्धन तथा जनजाति संघसंस्थाको सक्रियतामा सञ्चालन भइरहेको यो अभियानले रैथाने खानाको संरक्षणमा नयाँ आशा जगाएको छ ।

सिन्धुपाल्चोक आदिवासी जनजाति बाहुल्य जिल्ला हो, जहाँ प्रत्येक समुदायको आफ्नै भाषा, संस्कृति, रहनसहन र खानपानको विशिष्टता पाइन्छ । 

आदिवासी जनजाति समुदायको संस्कृति, परम्परा र खानपानलाई प्रवद्र्धन गर्ने उद्देश्यले पाक उत्सव अर्थात ‘फुड फेस्टिभल’ आयोजना गरिएको हो । यस्ता कार्यक्रमहरूले समुदायको मौलिकता उजागर गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्ने महत्वपूर्ण माध्यम बन्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update