रुपन्देही । फोहोर उठ्न नसक्दा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका दुर्गन्धित बन्दै गएको छ । पछिल्लो दुई वर्ष यता नगरले फोहोर व्यवस्थापन गर्दै आएको डण्डा नदी छेउमा सर्वोच्च अदालतले डम्पिङ नगर्न आदेश गरेपछि पछिल्लो ६ दिन यता नगरको फोहोर उठ्न छाडेपछि नगर दुर्गन्धित बन्दै गएको हो ।
व्यवस्थित डम्पिङ साइट नहुँदा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । नगरमा फोहोर व्यवस्थापनका लागि उचित स्थानको अभाव छ । स्थान अभावका कारण पालिकाले नगरभित्रै पर्ने डण्डा खोला छेउमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । पालिकाले सुरुमा वडा नम्बर १ को मेउडिहवामा फोहोर डम्पिङ गर्दै आएपनि त्यहाँ स्थानीयले अवरोध गरे ।
यसपछि वडा नम्बर १ कै राजमार्गको छेउमा रहेको डण्डा खोलाकै किनारमा पछिल्लो दुई वर्षयता फोहोर डम्पिङ हुँदै आएको थियो । यहीबीच अधिवक्ता विवेक बख्रेल र कानूनकी विद्यार्थी अन्जली सिलवालले डण्डा खोला छेउमा फोहोर फ्याँक्न रोक्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरे ।
उक्त मुद्दामा सुनुवाई गर्दै सर्वोच्चले बैशाख ४ मा डण्डा छेउमा फोहोर फाल्न रोक लगायो । यसपछि नगरपालिकाको फोहोर उठ्न सकेको छैन । पछिल्लो ६ दिनयता नगरका मुख्यदेखि भित्री चोकहरुमा फोहोर थुप्रिएको छ । फोहोर थुप्रिँदै जाँदा दुर्गन्ध समेत बढीरहेको छ भने स्थानीयले तत्काल व्यवस्थापन गर्न माग गरेका छन् ।
फोहोरमैलाको व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारलाई छ । तर नगरमा बढ्दो राजनीतिक खिचातानीका कारणले गर्दा उचित व्यवस्थापन हुन सकेको छैन । सिद्धार्थनगरले यसअघि फोहोर व्यवस्थापन गर्न भन्दै ओमसतियामा ६ विगाह जमिन किनेको छ । तर, त्यहाँ भएको राजनीतिक खिचातानी र स्थानीयको विरोधले व्यवस्थापन हुन सकेन ।
त्यसबेला एशियाली विकास बैंकले उपलब्ध गराएको ३२ करोड बढी रकम फ्रिज भएको थियो । अहिले खोला छेउमा फोहोर डम्पिङ गर्न अदालतले रोक लगाएपछि नगरपालिकालाई व्यवस्थापनमा चुनौति थपिएको छ । तत्कालका लागि पालिकाले प्लास्टिकमा फोहोर बाँधेर सडक किनारमा थुपारी रहेको छ भने स्थानीयलाई घरमै कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह गरेको छ ।
नगरमा दैनिक २० देखि २२ टनसम्म फोहोर संकलन हुँदै आएको छ । तर, पछिल्लो हप्ता फोहोर उठ्न सकेको छैन । नगरले ओमसतिया, रोहिणी, लुम्बिनी सांस्कृतिक लगायतका पालिकासँग सहकार्य गरेर फोहोर व्यवस्थापन गर्न खोजे पनि त्यो सफल हुन सकेको छैन ।
पछिल्लो हप्ता नगरको फोहोर उठ्न नसक्दा सहरभरी फोहोर थुप्रिएको छ । ठूला होटल तथा अस्पताल र व्यवसायिक प्रतिष्ठानहरुमा पनि फोहोर उसैगरी थुप्रिरहेको छ । स्थानीयको घरघरमा पनि फोहोर जम्मा भइरहेको छ ।
गर्मी मौसिम भएकाले लामो समय फोहोर नउठ्दा विभिन्न रोगको संक्रमण फैलन सक्ने भन्दै स्थानीयले तत्काल विकल्प खोज्न नगरपालिकालाई आग्रह गरिरहेका छन् ।
