कैलाली । पुर्वी कैलालीको लम्कीचुहा नगरपालिकाका वडा न.४ को बलियामा यातायात सेवा व्यवस्था कार्यालयको स्थापना गरिएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जोशीपुर गाउँपालिका, मोहन्याल गाउँपालिका र जानकी गाउँपालिका सहित पश्चिम सुर्खेत र पश्चिम बर्दियाका नागरिकहरुले बलियामा स्थापना भएको सेवा कार्यालयबाट सेवा लिन पाउने छन् ।
पुर्वी कैलालीमा यातायात सेवा व्यवस्था सेवा कार्यालयको स्थापनासँगै जिल्लाबासीसँगै पश्चिम सुर्खेत र पश्चिम बर्दियाका नागरिकलाई सहज भएको छ । यहाँका बासिन्दाले यातायातको सेवा लिन धनगढी पुग्नुपर्ने बाध्यता रहेको थियो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री शाहले जनतालाई सेवा दिने विषयमा कसैलाई आग्रह पुर्वग्रह नराखेर काम गर्न आग्रह गरे । यातायात व्यवस्था सेवा कार्यालय स्थापनाका लागि आफूले गरेको प्रयासको पनि शाहले स्मरण गरे । यातायात सेवा कार्यलयको थप सेवा विस्तार गर्ने सन्दर्भमा पनि प्रदेश सरकारले छिटै प्रक्रिया अगाडी बढाउने उनको भनाई छ ।
यातायात व्यवस्था सेवा कार्यालय स्थापन गरिएको बलिया पुर्वी कैलालीका सबै पालिकाहरुको बिच भागमा पर्दछ । लम्कीका जनप्रतिनिधी, यातायात व्यवसायी, सर्वसाधारणले लम्कीबाट ७० किलोमिटर टाढा धनगढी जानुपर्ने बाध्यताको अन्त्य भएको भन्दै सबैलाई सहज भएको बताए ।
उनिहरुले लम्कीको सेवा कार्यालयबाट सवारी साधनको रुट परमिट, गाडिको ट्रायल सेवा र गाडीको जाँच पास लगायतको सेवा विस्तार हुनुपर्ने माग गरेका छन ।
बलियामा स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालयबाट बिलबुक नविकरण, सवारी चलक अनुमति पत्र लाइसेन्स नवीकरणको काम हुनेछ भने यातायात सम्बन्धीको अन्य काम र सेवाहरु असार मसान्तपछि विस्तार हुनेछ ।
