News 24 Television
प्रहरी कष्टडीमै कसरी मारिए श्रीकृष्ण विक ?

काठमाडौं । के राज्यको सुरक्षा घेराभित्र नागरिक सुरक्षित छन?यो प्रश्न अहिले नागरिकस्तरबाट उठ्न थालेको छ । सुरक्षाको कडा पहरा र चौबीसै घण्टा प्रहरीको निगरानी तर त्यही पहराभित्र २३ वर्षीय श्रीकृष्ण विकको प्राण पखेरु उड्यो । जबरजस्ती करणीको आरोपमा अनुसन्धान भइरहेका ती युवकको मृत्युले अहिले सिन्धुली तातिएको छ । प्रहरीले सर्टको पासो भनेर प्रारम्भिक विवरण दिए पनि परिवारले यसलाई पत्याउन सकेको छैनन् । 

कानुनको रक्षा गर्ने ठाउँ,जहाँ मान्छेले न्यायको आशा गर्छ । तर सिन्धुलीमा एउटा यस्तो घटना घट्यो, जसले प्रहरी प्रशासनमाथि नै ठुलो प्रश्नचिन्ह खडा गरिदिएको छ । प्रहरीकै नियन्त्रणमा रहेका श्रीकृष्ण विकको मृत्यु कसरी भयो?यो आत्महत्या हो कि नियती, वा यसभित्र लुकेको छ कुनै भयावह सत्य?यस्ता प्रश्नहरु अहिले उठिरहेको छ ।

वैशाख ३ गते ललितपुरको सातदोबाटोबाट प्रहरीले श्रीकृष्ण विकलाई नियन्त्रणमा लिन्छ ।आरोप थियो—१६ वर्षीया किशोरीसँगको जबरजस्ती करणी। तर,परिवारका अनुसार यो कुनै अपराध नभई एउटा प्रेम विवाह थियो, जसलाई सामाजिक र कानुनी जटिलताको रङ दिइयो। ललितपुरबाट सिन्धुली लगिएका श्रीकृष्णको अनुसन्धान चल्दै थियो। तर वैशाख ७ गतेको साँझ एउटा यस्तो खबर आयो, जसले सिन्धुलीलाई स्तब्ध बनायो। श्रीकृष्णले हिरासतको शौचालयमा आफ्नै सर्ट प्रयोग गरेर पासो लगाए । 

घाइते अवस्थामा अस्पताल पु¥याउँदा चिकित्सकले उनलाई मृत घोषित गरे।तर,यहाँ एउटा गम्भीर प्रश्न उब्जिन्छ—के हिरासतभित्र रहेका थुनुवाको गतिविधिमा प्रहरीको नजर पुग्दैन?के सुरक्षा घेरा यति फितलो हुन्छ कि एउटा थुनुवाले आफूले लगाएको सर्ट फुकालेर पासो लगाउन्जेल कसैले पत्तो पाउँदैन?

प्रहरीको दाबी छ,श्रीकृष्णले आत्महत्या नै गरेका हुन। तर परिवार यो कुरा मान्न तयार छैन।गल्ती गरेको भए कानुनले सजाय दिनुपर्ने,तर ज्यानै गुमाउनुपर्ने अवस्था कसरी आयो?प्रश्न गरिरहेका छन ।

परिवारले प्रहरीले दिएको आत्महत्या थ्योरीलाई अस्वीकार गरेका छन् । उनीहरूको आरोप छ श्रीकृष्णलाई जबर्जस्ती आरोप स्वीकार गर्न दबाब दिइयो,र घटनापछि तत्काल जानकारी समेत दिइएन। अझ, प्रहरीले घटनास्थलको फोटो र भिडियो परिवारलाई देखाएको छैन। यसले पनि प्रहरीप्रति नै संशयको घेरा झनै फराकिलो बनाएको छ।प्रहरीले नै श्रीकृष्ण नै कुटिकुटि मारेको परिवारको आरोप छ ।
पज 

त्यसपछि घटनाले राजनीतिक मोड लियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू न्यायको माग गर्दै धर्नामा उत्रिए। उनीहरूले खुर्कोटका इन्स्पेक्टर र ड्युटी कमान्डरलाई तत्काल निलम्बन गर्न माग गरेका छन्।

चौतर्फी दबाबपछि अहिले तीन तहबाट छानबिन सुरु भएको छ। डिआईजी दिनेश कुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति, जिल्ला प्रशासनको समिति र राष्ट्रिय दलित आयोगको टोली यतिबेला सिन्धुलीमै छ। प्रहरीको छानबीन समितले ७ दिनको म्याद पाएको छ । प्रहरीको छानवीन समिति शनिवार घटनास्थल पुगेर अनुसन्धान थालिसकेको छ । 

कुनै पनि थुनुवाको सुरक्षाको पूर्ण जिम्मेवारी राज्यको हो। श्रीकृष्ण दोषी थिए वा निर्दोष, त्यो अदालतले फैसला गर्ने विषय थियो। तर, प्रहरीको कष्टडीमा हेको व्यक्तिको मृत्युले हाम्रो सुरक्षा प्रणाली र हिरासतको मानवअधिकारमाथि गम्भीर दाग लगाइदिएको छ। 

के छानबिन समितिले सत्य ओकल्ने साहस गर्ला? के एउटी आमाले आफ्नो छोराको मृत्युको वास्तविक कारण थाहा पाउलिन ? सिन्धुलीको यो घटना केवल एउटा मृत्यु होइन, यो हाम्रो न्याय प्रणालीको अग्निपरीक्षा पनि हो।


 

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update