News 24 Television
सामाजिक विकासका लागि अभियान, अपेक्षामा सद्भावसहितको सामाजिक व्यवहार

कैलाली । समाजमा बढ्दै गएका विभिन्न विकृतिहरूलाई अन्त्य गर्ने उद्देश्यसहित धनगढी उपमहानगरपालिका १२ मा ३५ दिने विशेष अभियान शुरु गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ ले सुरु गरेको यो अभियानमा झैझगडा, बाल विवाह, बहुविवाह, छुवाछुत, दाइजो प्रथा, अन्धविश्वास, मनोसामाजिक समस्या तथा सरसफाइ अभावजस्ता चुनौतीहरूलाई न्यूनीकरण गर्न यो अभियान केन्द्रित गरिएको छ । 

शान्ति सुरक्षा कायम राख्ने, लागुऔषध दुरुपयोग नियन्त्रण गर्ने, घरेलु तथा लैंगिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यसहित धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ मा ३५ दिने विशेष अभियान तीव्र रूपमा सञ्चालनमा भइरहेको छ । विशेषगरी महिलामाथि हुने हिंसा, बालबालिकाको अधिकार हनन, तथा युवामा बढ्दो लागुऔषध प्रयोगलाई कसरी कम गर्न सकिन्छ भने अभियान थालिएको हो । गत वर्ष पनि सञ्चालन गरिएको यस अभियानले सकारात्मक प्रभाव पारेको भन्दै यस वर्ष थप व्यवस्थित र व्यापक रूपमा कार्यक्रम अघि बढाइएको वडा कार्यालयले जनाएको छ ।

अभियान अन्तर्गत स्थानीय प्रहरी, जनप्रतिनिधि, शिक्षक, महिला समूह, युवा क्लब तथा विभिन्न संघसंस्थाहरूको सक्रिय सहभागिता रहेको छ। ३५ दिने कार्यक्रम समाज रुपान्तरणका लागि निकै प्रभावकारी रहेको बताएका छन् । 

घरदैलो कार्यक्रम, जनचेतनामूलक ¥याली, अन्तरक्रिया र परामर्श सेवा जस्ता गतिविधिहरू सञ्चालन भइरहेका छन्। घरदैलो कार्यक्रममार्फत प्रत्येक परिवारसम्म पुगेर सचेतना फैलाउने काम भइरहेको वडाले दाबी गरेको छ ।

अभियानले सामाजिक व्यवहारमा उल्लेखनीय परिवर्तन ल्याउने ३५ दिने अभियानमा सहभागी कमल शाहीले बताए । 

समाजमा व्याप्त कुरीति र विकृतिहरू केवल व्यक्तिगत समस्या नभई समग्र समाजकै चुनौती भएकाले यसको समाधानका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको भन्दै कार्यक्रममा सहभागी उत्साहित देखिन्छन्। सचेत नागरिक, जिम्मेवार समाज र सुरक्षित भविष्य निर्माण गर्ने लक्ष्यसहित सञ्चालनमा रहेको यो अभियानले दीर्घकालीन रूपमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update