News 24 Television
वालेन्द्र सरकारसंग उद्योगी व्यवसायी किन डराए ? सरकार धरपकडमा उत्रिएको आरोप

काठमाडौं । सरकारले निजी क्षेत्रमा त्रास सिर्जना गरेको भन्दै उद्योगी व्यवसायीले निराशा व्यक्त गर्न थालेका छन्। कानूनको पालना गर्ने विषयमा सरकारले पहिला थुन्ने अनि सुन्ने प्रवृत्ति अपनाउदा निजी क्षेत्रको मनोवल खस्किएको भन्दै उनीहरुले निराशा पोख्न थालेका हुन्। 

सम्पत्ति शुद्धिकरण अभियोगमा सरकारले अग्रवाल समूहका सुलभ अग्रवाल र गोल्छा अर्गनाइजेसनका शेखर गोल्छालाई पक्राउ गरेपछि निजी क्षेत्र त्रसित बन्न पुगेको छ। 

व्यापारिक घरानासंगै जोडिएका दीपक भट्टको कनेक्सन पहिल्याउदै जाँदा धेरै विषय तानिने खतराकाबीच सरकारले निजी क्षेत्रलाई प्रतिपक्षी ठान्ने गरेको भन्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले दुख पोखे।

कुल गार्हस्थ्य उत्पादनमा ८१ र रोजगारीमा ८६ प्रतिशत योगदान दिने निजी क्षेत्रलाई राज्यले वास्तविक आर्थिक इन्जिनका रूपमा स्वीकार गर्नुपर्ने दाबी गरिरहेको निजी क्षेत्रले सरकारसंग डर लाग्न थालेको भन्न थालेको छ। 

यता, नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले सरकारले ‘पहिले थुन्ने अनि सुन्ने’ प्रवृत्तिले लगानीको वातावरण बिगिएको आरोप लगाए। 

उसोतः गोल्छा, अग्रवाल र भट्टको पक्राउपछि निजी क्षेत्रका उद्योगी व्यवसायीले राज्यले आतंक सिर्जना गरेकोदेखि अनेक आरोप लगाइरहेका छन्।

उद्योगी व्यवसायी जुनसुकै बेला पनि पक्राउ पर्ने खतरा बढ्न थालेको भन्दै उनीहरुले पहिला सुन्ने अनि थुन्ने गर्नुको सट्टा पहिले थुन्ने अनि सुन्ने गर्नाले निजी क्षेत्रमा तनाव देखिएको बताइरहेका छन्। 

सरकारले अनुसन्धानका निम्ति पक्राउ गरेका व्यवसायीको पक्षमा समेत उनीहरु उभिन पुगेका छन्। तर, अपराध अनुसन्धानमा सरकारले विधिको शासनअनुसार काम गर्न नसक्ने हो भने समस्या थप बढ्ने देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १८, २०८३  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update