काठमाडौं । २५ सय ७० औं बुद्ध जयन्ती सरकार र अन्य धार्मिक संघसंठनहरुले निकै तामझामका साथ मनाएका छन् । बुद्धजयन्तीको अवसरमा गरिने तामझामबाहेक अन्य दिनहरुमा बुद्ध र बौद्ध दर्शन सरकारको चासोमा कमै पर्छ ।
बुद्ध जन्मस्थल नेपालमै पर्ने भएकाले विश्वका झण्डै ३० करोड बौद्धमार्गीका लागि यो सबैभन्दा पवित्र भूमि हो । तर नेपालले बुद्ध र लुम्बिनीबाट खासै आर्थिक लाभ लिन सकेको देखिदैन । बुद्ध, लुम्बिनी र नेपालमा प्रचलनमा रहेका बौद्ध धर्मका विविध सम्प्रदाय र बौद्ध स्थलहरुबाट नेपालले आर्थिक क्षेत्रमा पनि कायापलट गर्न सक्छ ।
नेपाल बुद्धको जन्मस्थल लुम्बिनीको देश हो । सन् ६२३ ईशा पूर्वमा लुम्बिनी बगैंचामा सिद्धार्थ गौतमको जन्म भएको थियो । बुद्धको जन्मस्थलको बारेमा ऐतिहासिक पुष्टिको अभावमा लामो समय अन्यौल थियो । तर सम्राट अशोकले खडा गरेको स्तम्भमा उल्लेख भएको विवरणका कारण लुम्बिनी बुद्ध जन्मस्थल भएको ऐतिहासिकरुपमा प्रमाणित भयो ।
लुम्बिनी अहिले युनेस्को विश्व सम्पदा सूचीमा छ र विभिन्न देशका बौद्ध विहारहरूले यसलाई अन्तर्राष्ट्रिय तीर्थस्थल बनाएका छन् । विश्वभरका करोडौं बौद्ध अनुयायीहरूका लागि नेपाल विशेष महत्व राख्छ । लुम्बिनी, कपिलवस्तु, रामग्राम जस्ता स्थलहरू बौद्ध परिक्रमाको प्रमुख अंग हुन् । तर नेपाललाई विश्व बौद्धमार्गीहरूको प्रमुख केन्द्र बनाउन अझै धेरै काम बाँकी छ ।
बृहत्तर लुम्बिनी परियोजना
लामो समयदेखि यतिकै थाँती रहेको बृहत्तर लुम्बिनी परियोजना लुम्बिनीलाई विश्वस्तरीय आध्यात्मिक तथा पर्यटन केन्द्र बनाउने महत्वाकांक्षी योजना हो ।
यसले लुम्बिनीलाई केन्द्र बनाई तिलौराकोट कपिलवस्तु, रामग्राम, देवदह लगायतका बौद्ध स्थलहरूलाई जोडेर ग्रेटर लुम्बिनी बौद्ध सर्किट विकास गर्दैछ । हालै विश्व बैंकले ८५ मिलियन अमेरिकी डलर अर्थात झण्डै १२ अर्ब ५० करोड रुपैयाँ ऋण स्वीकृत गरेपछि यो परियोजनाले साकार रुप लिने भएको छ । यो परियोजनाले पर्यटन पूर्वाधार, सडक, विमानस्थल सुधार र स्थानीय रोजगारी सिर्जना गर्नेछ । यो परियोजना सम्पन्न भएपछि यसले नेपाललाई बौद्धमार्गीहरूको प्रमुख गन्तव्य बनाउने लक्ष्य राखेको छ ।
लुम्बिनीलाई प्रवद्र्धन गर्नका लागि धेरै कुराहरु वृहत्तर लुम्बिनी परियोजनामै रहेको छ । तर नेपाललाई नै बौद्ध केन्द्र बनाउन सकिन्छ । यसकाले केही यस्ता उपायहरु अघि सार्न सकिन्छ ।
- लुम्बिनीलाई आधुनिक सुविधासहितको अन्तर्राष्ट्रिय बौद्ध भिलेजको रूपमा विकास गर्ने
- बौद्ध सर्किट लुम्बिनी–कपिलवस्तु–काठमाडौं उपत्यकाका बौद्ध स्थलहरू लाई प्रभावकारी बनाउने
- नेपालमा हिमाली क्षेत्रहरुमा रहेका बौद्ध अभ्यासलाई प्रवद्र्धन गर्ने
- विभिन्न देशका विहार र सांस्कृतिक केन्द्रहरू निर्माणलाई प्रोत्साहन दिने
- बौद्ध ध्यान, योग तथा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने
- पर्यटन र धार्मिक पर्यटनलाई एकीकृत रूपमा प्रवद्र्धन गर्ने
यसबाट नेपालले शान्तिको सन्देशमात्रै होइन आर्थिक विकास पनि गर्न सक्छ । बुद्ध जयन्तीको अवसरमा एक दिन सरकार, लुम्बिनी विकास कोष र अन्य विभिन्न बौद्ध संघसंगठनहरु तात्तिने भन्दा पनि यसलाई दीर्घकालिन योजनाहरु बनाउँदै नेपाललाई बौद्धमार्गीहरूको आध्यात्मिक केन्द्र बनाउने दिशामा ठोस कदम चाल्नुपर्छ । बौद्ध ज्ञान र दर्शनलाई प्रवद्र्धन गरेर नेपालले आर्थिक लाभमात्रै होइन विश्व गुरु नै बन्ने हैसियत बनाउन सक्छ ।
