News 24 Television
सांसद खनालसँगै हजारौसँग छैन लालपूर्जा

कैलाली । कैलाली–२ बाट निर्वाचित खनालको लम्कीचुहा नगरपालिका–१ बसपार्क नजिकै रहेको घर ऐलानी जग्गामा बनेको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ । सरकारले देशभर सार्वजनिक तथा अतिक्रमित जग्गामा बनेका संरचना डोजर लगाएर हटाइरहेका बेला यो विषयले थप चर्को बहस सिर्जना गरेको हो । लम्कीचुहामा मात्रै १६ हजार ५ सय अव्यवस्थित परिवार छन् । १ हजार २ सय २६ भूमिहीन दलित तथा १ हजार ९ सय १८ भूमिहीन सुकुम्बासी लम्कीमा बसोबास गर्दै आएका छन् । 

लम्किचुहा नगरपालिका १ मा करिब ६० प्रतिशतभन्दा बढी जमिन ऐलानी रहेको रहेको छ  । संघीय सरकारले सार्वजनिक जग्गाको खोजनीति र संरक्षण अभियान सुरु गरेसँगै कैलाली क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य केपी खनालको घर चर्चामा आएको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ स्थित ऐलानी जग्गामा खनालको अढाई तले घर बनेकोे छ । खनाल राजनितीमा आउनु भन्दा पहिले सामाजिक कार्यमा सक्रिय थिए ।

सामथ्र्य नेपालको पश्चिम नेपालको कमाण्डर हँुदै खनालले आफ्नै संस्था मैनादेवी फाउण्डेसनमार्फत् सरसफाईको काम गर्दै आएका थिए । खनालले यो संस्था मार्फत क्लिन काठमाण्डौँ अभियान संचालन गर्दै आएका थिए । 

बालेन्द्र शाह काठमाण्डौँ महानगरको प्रमुख हुदा खनालले शाहसंग मिलेर उक्त अभियान संचालन गरेका थिए । खनालले काठमाण्डौँमा चियाँदानी नामको एउटा व्यवसाय पनि संचालन गरिरहेका छन् भने उनका बाबुआमाले भारतमा रोजगारी गरिरहेका छन् । खनालको घर निर्माण भएको लम्कीचुहा नगरपालिकाको वडा न.१ मा करिब ६० प्रतिशतभन्दा बढी जमिन ऐलानी रहेको रहेको छ । मुख्य गरि लम्की बजार क्षेत्र समेत ऐलानी जमिनमा बसोबास गरिएको र वर्षौंदेखि स्थानीयले त्यहीँ बसोबास गर्दै आएको जनाइएको छ । सरकारले सार्वजनिक जग्गा खाली गर्ने प्रक्रिया अघि बढाएपछि स्थानीयमा चिन्ता बढेको छ ।

सांसद खनालको घरको विषय भाइरल बनेपछि उनका छिमेकीहरूले भने उनलाई बदनाम गर्न खोजिएको बताएका छन् । उनीहरूका अनुसार खनालका बुबाले करिब ३० वर्ष भारतमा मजदुरी गरेर कमाएको पैसाले घर निर्माण गरिएको हो । करिब १० वर्षअघि १३ धुर जमिन किनिएको, ६ वर्षअघि घरको जग बसालिएको र ३ वर्षअघि आफन्तहरुको निगरानीमा घर निर्माण सम्पन्न भएको स्थानीयब बताउँछन् । छिमेकीका अनुसार घर निर्माणका लागी खरिद गरिएको निमार्ण सामाग्रीहरुको बजारमा अझै भुक्तानी गर्न बाकी छ भने घरलाई रङरोगन गर्न पनि बाँकी नै रहेको छ । 

लम्कीचुहा नगरपालिका वडा न. १ का अध्यक्ष नेत्र खनालले वडाभित्र करिब ६० प्रतिशत जमिन ऐलानी रहेको दावी गरेका छन । अव्यवस्थित बसोबासी, दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया स्थानीय तहबाट अघि बढाएर निस्सा वितरण भइसकेको छ । संघीय सरकारले छिटो भन्दा छिटो लालपुर्जा वितरण गर्नुपर्ने अध्यक्ष खनालको भनाइ छ  

भूमि समस्या समाधान आयोग कैलालीका अनुसार लम्कीचुहामा मात्रै १६ हजार ५ सय अव्यवस्थित परिवार छन् । १ हजार २ सय २६ भूमिहीन दलित तथा १ हजार ९ सय १८ भूमिहीन सुकुम्बासी लम्कीमा बसोबास गरिरहेका छन् । आयोगको तथ्यांक अनुसार कैलाली जिल्लामा १ लाख ४० हजार ३ सय ४८ परिवारले भूमि प्रप्तीका लागि निवेदन दिएका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update