काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारसंगै पार्टीलाई पनि उत्तिकै चलायमान बनाएको छ । सरकारको नेतृत्व बालेन्द्र शाहले गर्दा सभापति रवि लामिछानेले पार्टीको गतिविधिलाई सक्रिय बनाइरहेका छन् ।
संघीय चुनावमा झण्डै दुई तिहाईको जनमत ल्याएको रास्वपा ०८४ को स्थानीय तहको चुनावी तयारीमा जुटीसकेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको रास्वपा बैठकले लिडरसिप एकेडेमीमार्फत उम्मेदवार छनोट गर्ने निर्णय गर्दा सुकुम्बासी समस्या समाधानबारे भने नेताहरुले चित्तबुझ्दो जवाफ दिएनन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नेतृत्वमा आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवाल बैठकले केहि महत्वपूर्ण निर्णय गरेको छ । ०८४ मा हुने स्थानीय तहको चुनावमा उम्मेदवार छनोट रुपरेखा २०८३ पारित गरेको छ ।
जसमा आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लब र लिडरशिप एकेडमीबाट उतिर्ण हुनैपर्ने प्रावधान राखिएका छन् । साथै, पारित भएको रुपरेखालाई अक्षरांश र प्रभावकारी रुपमा पालना गराउन सहमहामन्त्री विपिनकुमार आर्चायको संयोजकत्वमा उम्मेदवार छनोट रुपरेखा कार्यान्वयन तथा समन्वय समिति गठन गर्ने निर्णय गरेको हो । यसका साथै रास्वपाले गरेका निर्णय यस्ता छन्,
–पार्टीको संसदीय दलको संशोधित विधान अनुमोदन गर्ने ।
–पार्टीको ऐतिहासिक प्रथम महाधिवेशन सम्पन्न गर्न “महाधिवेशन कार्यविधि–२०८३” पारित गर्ने ।
–पार्टीको बागमती प्रदेश समितिको सिफारिस बमोजिम रसुवा जिल्ला समिति विघटन गरी नयाँ प्रक्रियाबाट समिति गठन गर्ने ।
अर्काेतर्फ रास्वपा सरकार सुकुम्बासीप्रति निर्मम बनेको भन्दै चर्काे आलोचना भइरहेको पनि छ । काठमाडौँ सहित देशभरका सुकुम्बासी बस्तीमा यतिबेला डोजर अभियान चलिरहँदा सुकुम्बासी नागरिक मारमा परेका छन् ।
वास्तविक सुकुम्बासीको पहिचान र व्यवस्थापन विना नै सरकारले हठातमा डोजर आतंक मच्चाएको आरोप रास्वपाले खेपीरहेको हो । सचिवलाय बैठकले पार्टीको वाचापत्रको बुँदा नं. ८२ अनुसार सुकुम्बासी समस्या समाधानमा सरकार केन्द्रीत भएको दाबी गरिएको छ ।
यता सुकुम्बासी बस्ती खाली गर्दा ज्यान गुमाएकाहरुको विषयमा गरेको प्रश्नमा रविले अनुसन्धानको रिपोर्ट नआई नबोल्ने भन्दै प्रतिक्रिया दिन अस्वीकार गरे ।
फागुन २१ को प्रतिनिधिसभा चुनावमा १ सय ८२ सिट सहित सरकारको नेतृत्व गरिरहेको रास्वपाले स्थानीय चुनावलाई केन्द्रभागमा राखेको छ ।
