News 24 Television
एक दशक बित्यो, तीन किलोमिटर सडक बनेन

बुटवल । बुटवलको मुख्य बजार क्षेत्र चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक खण्ड निर्माण सुरु भएको १० वर्ष पुगिसक्दा पनि अधुरै छ । बुटवलको मुख्य मेरुदण्ड मानिएको यो सडक खण्ड निर्माणमा भएको चरम ढिलासुस्तीले एकातिर बुटवलको सौन्दर्य र व्यापार खस्किएको छ भने अर्कोतिर राज्यको ढुकुटीबाट थप १५ करोड रुपैयाँ व्ययभार थपिएको छ । 

रुपन्देहीको बुटवलस्थित राजमार्ग चौराहादेखि गोलपार्कसम्मको करिब साढे तीन किलोमिटर सडक निर्माण सुरु भएको झन्डै एक दशक बित्न लागेको छ । तर पनि सडक निर्माण कार्य भने अझै सम्पन्न हुन सकेको छैन । ६ लेनको आधुनिक सडकका रूपमा विस्तार गर्ने लक्ष्यसहित २०७३ चैत १७ गते ‘कञ्चनजङ्घा–बिरुवा जेभी’सँग ठेक्का सम्झौता गरिएको थियो । 

करिब ५४ करोड रुपैयाँ लागतमा ३० महिनाभित्र, अर्थात् २०७६ सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । ठेकदार कम्पनीले ८ पटक म्याद थप्दा पनि काम पूरा गर्न नसकेपछि सडक डिभिजन कार्यालय बुटवलले २०८१ वैशाखमा ठेक्का रद्द गरेको थियो ।  त्यसपछि बाँकी काम सम्पन्न गर्न ‘बावुल दर्शन मालिका जेभी’ (भैरहवा) सँग भ्याटसहित करिब ३३ करोड रुपैयाँमा नयाँ ठेक्का सम्झौता गरियो । 

२०८१ असोज १८ गते भएको सम्झौताअनुसार एक वर्षभित्र काम सक्ने लक्ष्य राखिए पनि नयाँ ठेकेदार कम्पनीले पनि अपेक्षित प्रगति गर्न सकेको छैन । हालसम्म उक्त सडकमा १० पटक म्याद थप भइसकेको छ । 

नयाँ ठेकदार कम्पनी बाबुल दर्शनसँग पनि दुई पटक म्याद थप भइसकको छ भने पुनः  तेस्रो पटक म्याद थपका लागि प्रक्रिया अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ । सडक डिभिजन कार्यालय बुटवलका अनुसार हालसम्म सडक निर्माणको भौतिक प्रगति करिब ५६ प्रतिशत र वित्तीय प्रगति ४३.९५ प्रतिशत छ ।

पुरानो ठेक्का तोडेपछि एक वर्षभित्र निर्माण सम्पन्न गर्ने शर्तसहित २०८१ असोज १८ गते नयाँ ठेकदारसँग सम्झौता भए पनि पुरानै नियति दोहोरिएको छ । कुनै समय बुटवलको सडक नबनेमा सडकमै अनसन बस्छु भन्ने मेयर खेलराज पाण्डेय नाजवाफ छन् । सडकको अवस्थाबारे स्थानीयले प्रश्न गर्दा निर्वाचन जितेका माननीयलाई सोध्नु भन्दै झर्किने गरेका छन् । 

निर्माण कम्पनी ‘बावुल दर्शन मालिका जेभी’ मध्य बावुल कन्स्ट्रक्सनका सञ्चालक रुपन्देही क्षेत्र नम्बर ५का रास्वपाबाट निर्वाचित सांसद तौफिक अहमद खानकै परिवारका सदस्य हुन् । खान प्रधानमन्त्री बलेन्द्र शाहमै निकटस्थ मानिन्छन् ।

प्रधानमन्त्री शाहले निर्वाचनअघि काम नगर्ने ठेकेदारलाई बाँधेर हुन्छ कि थुनेर काम लगाउनुपर्छ भन्ने अभिब्यक्ति दिएका थिए ।  सडक समयमा नबन्दा स्थानियले हैरानी व्यहोर्न बाध्य भएका छन् । धुलो र हिलोले सडक अस्तव्यस्थ बन्दा बुटवल कुरुप बन्न पुगेको छ । सहर विकासको नाममा भइरहेको निर्माण कार्य समयमै सम्पन्न नहुँदा स्थानीयवासी र व्यापारी हैरान छन् । 

सडक खण्डमा साढे १० मिटर चौडाइको मुख्य लेन, ७ मिटरको सर्भिस लेन, ३ मिटरको फुटपाथ र साढे २ मिटरको ग्रीनबेल्ट (हरित क्षेत्र) सहितको आधुनिक संरचना निर्माण गर्ने सम्झौता गरिएको छ । 

आयोजना समयमै सम्पन्न नहुँदा ‘प्राइस एस्केलेसन’ (मूल्य वृद्धि समायोजन) र प्रशासनिक खर्चका नाममा राज्यलाई थप १५ करोड रुपैयाँ आर्थिक भार परेको छ। सुरुवाती सम्झौता अनुसारको बजेटमा काम नसकिँदा र निर्माण सामग्रीको मूल्य आकाशिँदा आयोजनाको कुल लागत झन् महँगो बन्दै गएको हो। ४७ करोडको सडक ६२ करोड पुग्दा पनि मात्र आधा सम्पन्न भएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update