रुपन्देही । सहरमा सवारी गुड्ने सडकको जत्तिकै पैदल यात्रुका लागि छुट्याइएका फुटपाथको पनि महत्व हुन्छ । फुटपाथबाट बटुवा ओहोरदोहोर गर्छन् । बजारमा किनमेल गर्न जानेहरु पनि फुटपाथमै हिंडडुल गर्छन् । तर, सिद्धार्थनगर नगरपालिकाका फुटपाथ यात्रुका लागि सहज छैनन् । पैदल यात्रुका लागि निर्माण गरिएका फुटपाथमा मालसमान राखेर व्यापार भइरहेका छन् फुटपाथ हटाउन भने पालिकाले ध्यान दिएको पाइँदैन ।
व्यवस्थित सहरको परिचय खुल्ला र सहज फुटपाथ पनि मानिन्छ । तर, भएका फुटपाथ समेत कब्जामा पर्दा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कुरुप मात्रै बनेको छैन, पैदलयात्रुलाई ओहोरदोहोर गर्नै समस्या हुने गरेको छ । भैरहवाका मुख्य बजार क्षेत्रका सडक पेटी कतैं व्यापारिक त कतैं पार्किङ स्थल बनेका छन् ।
केही ठाउँमा सडक क्षेत्र ओगट्ने गरि निर्माण गरेका जस्तापाताका सेड र होर्डिङ बोर्ड छन् भने कतिपय स्थानमा गाडी लोड–अनलोड गर्ने गरिएको छ । भैरहवाको आँखा अस्पताल, मुख्य राजमार्गको दायाँवाँया धेरै ठाउँमा सर्वसाधरणले व्यापार गरिरहेको देखिन्छ भने ठूला होटलले फुटपाथलाई पार्किङ स्थल बनाएका छन् ।
भैरहवाको मुटुका रुपमा मानिएका बैंकरोड, नारायणपथ, गल्लामण्डी क्षेत्रमा फुटपाथ नै बढी मात्रामा कब्जा हुने गरेको छ । यसले सर्वसाधारण मात्रै होइन् व्यापारीलाई समेत हैरान हुने गरेको छ ।
मुख्य र भित्री सडकमा गरी सिद्धार्थनगरमा करिब ८६ किलोमीटर दुईतर्फी फुटपाथ क्षेत्र छ । तर, धेरै ठाउँमा कल्भर्ट फुट्ने, व्यापार गर्ने, झाँडीले ढाक्ने, निर्माण सामाग्र असरल्ल छाड्ने गरिएको छ ।
यसले फुटपाथमा हिंडडुल गर्नेहरुले सास्ती खेपिरहेका छन् । नगरपालिकाले फुटपाथ लगायत अतिक्रमित क्षेत्रबाट आफ्ना सामान हटाउन बैशाख १७ गते १५ दिने सूचना जारी गरेको थियो । उक्त अवधिमा सहरका कुन कुन क्षेत्र अतिक्रमणमा परेका छन् भन्ने पत्ता लगाउने काम भइरहेको छ ।
फुटपाथ प्रत्येक नागरिकको सार्वजनिक अधिकारसँग प्रत्यक्ष जोडिएको हुन्छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अपांगता भएका व्यक्तिका लागि सुरक्षित फुटपाथ अत्यन्त आवश्यक मानिन्छ । तर, सिद्धार्थनगरका फुटपाथ व्यवस्थित भएर पनि संरक्षण नहुँदा नागरिकले समस्या भोगिरहेका छन् ।
हुनतः विपन्न परिवारको जीविकोपार्जन फुटपाथ व्यापारसँग जोडिएको वास्तविकता पनि छ । बेरोजगारी र गरिबीका कारण कतिपय मानिस फुटपाथमा सानो व्यापार गरेर जीवन निर्वाह गरिरहेका छन् । त्यसैले फुटपाथ व्यवस्थापन गर्दा केवल हटाउने नीति मात्र नभई मानवीय दृष्टिकोण पनि जरुरी देखिन्छ ।
स्थानीय सरकारले वैकल्पिक व्यापार क्षेत्र, व्यवस्थित खुला बजार तथा साना व्यवसायीमैत्री नीति लागू गर्न सकेमा पैदलयात्री र व्यवसायी दुवैको अधिकार संरक्षण हुनसक्छ । यसका लागि प्रभावकारी कानुनी कार्यान्वयन, सहरी योजना, नागरिक सचेतना र जिम्मेवार स्थानीय शासन आवश्यक हुन्छ । व्यवस्थित फुटपाथले सहरलाई सुन्दर बनाउने मात्र होइन, नागरिकको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण आधार पनि तयार गर्छ ।
