News 24 Television
जनताको माग प्राथमिकतामा, अधिकांस योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले चालु आर्थिक वर्षका अधिकांश योजना कार्यान्वयनको अन्तिम चरणमा पु¥याएको छ । स्वीकृत १४९ योजनामध्ये ९५ योजना सञ्चालनमा छन्  जुन करिब ६४ प्रतिशत हो । कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, खेलकुद र सामाजिक विकासलाई प्राथमिकता दिँदै आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । 

म्याग्दीको मंगला गाउँपालिकाले छनौट गरेका योजनाहरू केवल संरचना निर्माणमा सीमित नभई जीवनस्तर सुधारसँग प्रत्यक्ष जोडिने गरेको पाइएको छ । एक सय ४९ स्थानमा एक सय ५४ योजना रहेकोमा ९५ स्थानका योजनाहरु भवन तथा सडकतर्फ केन्द्रित छन्  । गाउँपालिकाले स्थानीय तहको प्राथमिकता अझै पनि आधारभूत पूर्वाधार विकासमै केन्द्रित रहेको भन्ने देखिन्छ । 

स्थानीय तह स्थापनाको दशक पुग्दा पनि अझै स्थानीय पूर्वाधार निर्माणमै वार्षिक बजेटको ठूलो हिस्सा खर्चिने गरिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षका लागि कुल तोकिएका मध्ये ९५ वटा योजनाहरु सम्झौता भई सकेका छन् । त्यस मध्ये ४६ वटा योजनाहरु निर्माण सम्पन्न भइ सकेको छ । निर्माण सम्पन्न भएका मध्ये पनि ४६ योजनाहरु निर्माण सम्पन्न भएर पनि भुक्तानी भैसकेको छ ।

गाउँपालिकाले समावेशी तबरले सबै क्षेत्रमा लगानी गर्दै आएको छ । चालु आर्थिक वर्षमा मंगला गाउँपालिका ३ बरंजाको महेन्द्र रत्न माध्यमिक विद्यालयमा अध्ययन गर्ने टाढाका विद्यार्थीहरु एवम् निम्न आयस्तर भएका विद्यार्थी लक्षित गरी छात्रावास सञ्चालन गर्नका लागि भवन निर्माण भइरहेको छ । प्रदेश सरकारको बहुवर्षिय कार्यक्रम अन्तरगत बन्न लागेको भवनले टाढा टाढाबाट आउने विद्यार्थीहरुलाई आवासिय सुविधा सहित गुणस्तरीय शिक्षाका लागि निकै महत्वपूर्ण भूमिका खेल्नेछ । चालु आर्थिक वर्षका लागि भवन निर्माणमा ४८ लाख बिनियोजन भएको छ ।

महेन्द्र रत्न माध्यमिक विद्यालय अध्ययनका लागि दुई घण्टाको पैदल यात्रापछि मात्र पुगिने अवस्था पनि छ । बेनी नगरपालिका ४ कलङ्कुर, ३ मरेक तथा मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडाका विद्यार्थीहरुले अध्ययन गर्ने एक मात्रै माध्यमिक विद्यालय भएको हुँदा पनि शैक्षिक गुणस्तर सुधारका लागि छात्रावास अपरिहार्य नै हो । 

मंगला गाउँपालिका ४ को धापुङमा कक्षा ५ सम्म अध्ययन गरेपछि महेन्द्र रत्न पुग्न टाढा हुने हुँदा धापुङका विद्यार्थीले कक्षा ५ मै दुई वर्ष पढेर मात्रै कक्षा ६ पढ्न मंगला गाउँपालिका ३ आरभाङमा रहेका महेन्द्र रत्न माध्यमिक विद्यालय पुग्ने गरेका छन् ।

गाउँपालिकाले सडक तथा भवन निर्माणमा ठूला योजनाहरु निर्माण भन्दा पनि मर्मत र स्तरोन्नती तथा पुनःनिर्माणमै ध्यान दिएको देखिन्छ । पूर्वाधारतर्फ सबैभन्दा ठूलो बजेट मोटरबाटो तथा सडक योजनामा केन्द्रित रहेको छ ।

सिम कोत्रवाङ खुम्लिया पैयुपाटा कुहुँ पूर्णगाउँ टोड्के मोटरबाटोका लागि गाउँपालिकाबाट यस वर्ष १ करोड ५० लाख ४५ हजार चार सय ६५ रुपैयाँ बजेट बिनियोजन गरिएको छ । गत वर्ष देखि नै निर्माणधीन सडकको काम यो वर्ष पनि जारी नै रहेको छ । गाउँपालिकाको ५ नम्बर वडामा पर्ने पुल्चोक पिपलबोट पाँखु धारा टिकाबाङ मोटरबाटोको पनि ठेक्का मार्फत सम्झौता भएको छ । 

गाउँपालिकाले चालु आर्थिक वर्षमा यो सडकका लािग ९१ लाख बजेट बिनियोजन गरेको छ । कतिपय विद्यालयहरुका अग्ला कान्लाहरुबाट विद्यार्थी लडेर घाइते हुने र अंगभंग हुने सम्मको पनि अवस्था सृजना हुने हुँदा त्यस्तो जोखिम हटाउनका लागि पनि यस वर्ष गाउँपालिकाले विभिन्न विद्यालयहरुमा घेराबारको योजना पनि राखेको छ । 

गाउँपालिकाले खेलमैदान, विद्यालयमा सिसि क्यामेरा, मन्दिर मर्मत तथा घेराबार एवम् विभिन्न स्थानमा रहेका खानेपानी तथा सिंचाइका योजनाहरु पनि यो वर्ष राखेको छ । 

गाउँपालिकाको बजेट कार्यान्वयनको अवस्था हेर्दा गाउँपालिकाले दिएको सुचना अनुसार हालसम्म ७८ योजना उपभोक्ता समिति मार्फत ६ योजना ठेक्का प्रक्रियाबाट ६ योजना सिलबन्दी दरभाउबाट र ५ योजना कोटेशनमार्फत गरी कुल ९५ योजना कार्यान्वयनमा गइसकेका छन् । बाँकी ५४ योजना कार्यान्वयनमा जाने चरणमा रहेको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update