News 24 Television
नीति तथा कार्यक्रमप्रति रुपन्देहीका ब्यवसायी उत्साहित

रुपन्देही । निजी क्षेत्रले सरकारको नीति तथा कार्यक्रम सकारात्मक भएको प्रतिक्रिया दिएको छ । रुपन्देहीका उद्योगी–व्यवसायी तथा निजी क्षेत्रका छाता संगठनका पदाधिकारीहरुले प्रविधिको प्रयोगदेखि निजी क्षेत्रसँग साझेदारी गर्ने विषयवस्तु समेटिएको भन्दै आफूहरु वर्तमान सरकारसँग आशावादी रहेको जनाएका छन् । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले मुलुकको आर्थिक सुधार, सुशासन, पूर्वाधार विकास, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार, शिक्षा, स्वास्थ्य, पर्यटन तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको भन्दै निजी क्षेत्रले स्वागत गरेको छ । सोमबार संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका तर्फबाट आर्थिक वर्ष २०८३–२०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

सरकारको नीति तथा कार्यक्रममा उत्पादन, रोजगार र लगानी अभिवृद्धिमा जोड दिइएको छ । नीति तथा कार्यक्रममा आइटी क्षेत्रको विकासदेखि निजी क्षेत्रसँग सहकार्यमा जोड दिइनु सकारात्मक पक्ष भएको उद्योगी–व्यवसायीको भनाई छ । व्यवसायीले अब ती योजना बजेटमा समेटिनु पर्ने जनाएका छन् ।

सरकारले राम्रो पहल कदमी गर्ने प्रयास गरेको जनाउँदै बजेटले नीति तथा कार्यक्रममा उठाएका विषयवस्तु समेटिए आर्थिक विकास र उद्योग–व्यवसायको प्रबद्र्धन हुने विश्वास निजी क्षेत्रको छ । उद्योग, व्यापार र पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न कर प्रणाली सुधार, प्रशासनिक झन्झट घटाउने तथा विदेशी लगानी आकर्षित गर्ने योजना अघि सार्नु निकै राम्रो पक्ष मान्नु पर्ने रुपन्देहीका उद्योगी वयवसायी बताउँछन् । 

नीति तथा कार्यक्रममा लुम्बिनी लगायत धार्मिक तथा ऐतिहासिक स्थलहरुको अन्तर्राष्ट्रियस्तरमा प्रबद्र्धन गरिने जनाइएको छ । यस्तै, भैरहवाको गौतमबुद्ध विमानस्थल सञ्चालनमा जोड दिइएको छ । यसले लामो समयदेखि विमानस्थललाई लक्षित गरी लगानी गरेका व्यवसायी उत्साहित छन् । तर कतिपय व्यवसायीले नीति तथा कार्यक्रम कार्यान्वयनमा आशंका समेत गरेका छन् । 

मूल्यबृद्धिमा ध्यान दिनुपर्ने र निर्माण व्यवसायीको भुक्तानी समयमै हुनुपर्ने कुराहरु प्रष्ट नीति तथा कार्यक्रममा नआएको गुनासो सम्बद्ध व्यवसायीको छ । कतिपयले नीति र कार्यक्रमहरु विश्वास गर्न लायक नभएको पनि तर्क गरेका छन् ।

नीति तथा कार्यक्रममा सुशासन र सार्वजनिक सेवा प्रवाह सुधार गर्न डिजिटल प्रणालीको विस्तार, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक पारदर्शिता तथा नागरिकमैत्री सेवा प्रणाली लागू गर्ने विषयलाई समेटिएकोमा व्यवसायी खुशी छन् । साना तथा मझौला उद्योगलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने र युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने नीति पनि समावेश गरिएको छ । 

कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यवसायिक बनाउन आधुनिक कृषि प्रणाली, सिंचाई विस्तार, मल–बीउको सहज उपलब्धता तथा कृषि उत्पादनको बजार सुनिश्चित गर्ने योजना समेटिएको छ । किसानलाई उत्पादनमा आधारित अनुदान दिने, कृषि बीमा प्रभावकारी बनाउने तथा कृषि उपजको भण्डारण र प्रशोधनमा लगानी बढाउने लक्ष्य लिइएको छ । 

ऊर्जा क्षेत्रको विकास, विद्यालय शिक्षाको गुणस्तर सुधार, अस्पताल स्तरोन्नति, औषधि उपलब्धता तथा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने नीति लिइएको छ । पर्यटन प्रवद्र्धनका लागि धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रचार–प्रसार गर्ने योजना समेटिएको छ । 

नीति तथा कार्यक्रमले आर्थिक पुनरुत्थान, उत्पादन वृद्धि, रोजगारी सिर्जना र दिगो विकासमार्फत नागरिकको जीवनस्तर उकास्ने उद्देश्य बोकेकोमा व्यवसायीहरु उत्साहित छन् । तर, बजेट विनियोजन र कार्यान्वयनमा जानुपर्नेमा निजी क्षेत्रको जोड छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update