म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा गाईको दूधबाट उत्पादन गरिएको चिजलाई बजार अभाव छैन । यहाँ उत्पादिन चिजको म्याग्दीसहित बागलुङ, पर्वत, कास्की र काठमाडौंसम्म माग रहेको छ । उत्पादकका अनुसार उत्पादनभन्दा बजार माग बढी भएकाले पर्याप्त आपूर्ति गर्न कठिन भइरहेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा उत्पादन हुने चिजको बजार माग अत्यधिक बढेपछि आपूर्ति गर्न कठिन भएको छ । २०७२ सालदेखि सञ्चालनमा रहेको राम्चे डेरी तथा चिज उद्योगले दैनिक २५० लिटर दूध संकलन गरी करिब २० केजी चिज उत्पादन गर्दै आएको छ ।
एक केजी चिज बनाउन १३ लिटर गाईको दूध आवश्यक पर्छ । हाल राम्चे क्षेत्रका २८ कृषकले करिब ४० गाई पालिरहेका छन् । पर्यटकीय सिजनमा चिजको माग अझै बढ्ने भए पनि सीमित दूध उत्पादनका कारण मागअनुसार आपूर्ति गर्न नसकिएको उद्योगले जनाएको छ । स्थानीय किसानले दूध बिक्रीबाट राम्रो आम्दानी गरिरहेका छन् ।
पहिले दूधबाट मोही र घ्यू बनाउने किसानहरू अहिले दूध बेचेरै राम्रो आम्दानी गर्न थालेका छन् । स्थानीय कृषक बिहान ४ बजे उठेर गाईको स्याहार गरी दूध दुहुने र बिहान ६ बजेसम्म राम्चे डेरी तथा चिज उद्योगमा पु¥याउने गर्छन् ।
गुणस्तर अनुसार प्रतिलिटर ६५ देखि ६८ रुपैयाँमा गाउँमै दूध बिक्री हुने गरेको छ । २०७२ देखि चिज उद्योग सञ्चालनमा आएपछि किसानले मासिक १० देखि १५ हजार रुपैयाँसम्म आम्दानी गर्न थालेका छन् ।
समुद्री सतहदेखि २३०० मिटर उचाइमा रहेको राम्चेमा पहिले दूध बिक्री गर्ने कल्पना गरिदैन थियो । २०७२ मा ७ लाख रुपैयाँ लगानीमा सुरु भएको चिज उद्योगले अहिले नियमित उत्पादन गरिरहेको छ । उद्योगबाट उत्पादित चिज घान्द्रुक, लान्द्रुक, पोखरा, घोडेपानीलगायत क्षेत्रमा उच्च मागमा छ ।
सञ्चालकका अनुसार माग धेरै भएकाले चिज स्टक गर्न सकिएको छैन । अन्नपूर्ण गाउँपालिकाले कृषकलाई दूध बोक्ने ठेकी र क्रिम सेप्रेटर मेसिनसमेत सहयोग गरेको छ ।
गुणस्तरीय उत्पादनले बजार नपाउने समस्या नभएको स्थानीयब बताउँछन् । गाउँमा सुरु भएको चिज उद्योगले तीन जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने २८ जना कृषक गाईपालनमार्फत जोडिएका छन् । स्थानीय उत्पादन र गुणस्तरमा ध्यान दिए सबैको आम्दानी र उन्नति सम्भव हुने देखिन्छ ।
