News 24 Television
खुला सीमाबाट अवैध आयात : नेपाली किसान र व्यवसायी संकटमा

रुपन्देही । खुला सिमानाबाट हुने पशुपन्छीको अवैध आयातले स्वदेशी लगानी जोखिममा परेपछि रुपन्देहीमा क्वारेन्टाइन कार्यालय, मासु व्यवसायी संघ र सुरक्षा निकायले मुख्य तथा लुकिछिपी प्रयोग हुने नाकाहरुमा समेत छड्के अनुगमन थालेका छन् । 

नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै हुने अवैध पशुपन्छी तथा पशुजन्य वस्तुको ओसारपसार रोक्न रुपन्देहीमा अनुगमन कडा पारिएको छ । पशु क्वारेन्टाइन कार्यालय भैरहवा र मासु व्यवसायी संघको पहलमा विभिन्न सीमानाकामा छड्के निगरानी बढाइएको हो । भारतबाट अवैध रूपमा भित्रिने कुखुरा, खसीबोका लगायत सामग्रीले नेपाली बजार, जनस्वास्थ्य र राजस्वमा असर पारेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विना परीक्षण भित्रिने पशुपन्छीले रोग फैलाउने जोखिमसमेत बढाएको बताइएको छ ।

अनुगमन टोली पुग्दा सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको अवस्था निकै चुनौतीपूर्ण देखिन्छ । ५०–६० जनाको संगठित समूहमा आउने तस्करहरूलाई नियन्त्रण गर्न २–४ जना मात्र सुरक्षाकर्मी हुँदा निकै समस्या पर्ने गरेको छ । घाम, पानी, बतास केही नभनी जवानहरू खटिदाँ पनि जनशक्ति कम हुँदा तस्करहरूले मौका छोप्ने गरेका छन् । 

सरकारले सीमामा थप जनशक्ति र आवश्यक सामाग्री समेत व्यवस्था गरिदिए चोरी–डकैती र तस्करीलाई शून्यमा झार्न सकिने देखिएको छ । 
रुपन्देहीको मर्चवारी क्षेत्रका मुर्दाघाट र भोगटीघाट नाकामा जनशक्ति अभावले भन्सार छली रोक्न कठिन भएको सशस्त्र प्रहरी र नेपाल प्रहरीले बताएका छन् । भारतीय प्रहरीसँग समन्वय गर्दै सीमित स्रोतसाधनमै निगरानी भइरहेको छ ।

व्यवसायीहरूले भारतबाट अवैध रूपमा आउने सस्ता सामानले नेपाली व्यवसाय, लगानी, राजस्व र जनस्वास्थ्यमा गम्भीर असर पारेको बताएका छन् ।

सुरक्षाकर्मीलाई पर्याप्त पूर्वाधार, प्रविधि र जनशक्ति नदिँदा तथा अवैध आयातमा कडा कारबाही नहुँदा स्वदेशी बजार परनिर्भरताबाट मुक्त हुन कठिन देखिएको छ । अवैध आयातले किसान, व्यवसायी, राजस्व र जनस्वास्थ्यमा असर पारेकाले राज्यले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याइएको छ । क्वारेन्टाइन, सुरक्षा निकाय र प्रशासनबीचको सहकार्य अझ सशक्त बनाउनुपर्नेमा जोड दिइएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update