बाजुरा । साविक जिल्ला स्वास्थ्य कार्यालय बाजुराले २०६६ सालमा स्थापना गरेको ब्लड बैक अलपत्र अवस्थामा पुगेको छ । सञ्चालन गरेको सुरुवातको केही महिना सञ्चालनमा आएपनि हाल भने यो ब्लड बैंक अलपत्र अवस्थामा छ । ब्लड बैक अलपत्र भएपछि जिल्ला अस्पताल बाजुरामा उपचारका लागि आएका विरामीहरूलाई रगत आवश्यक परेको खण्डमा सदरमुकाम मार्तडी बजारमा रक्तदाता खोज्नु पर्ने अवस्था छ ।
बाजुरा जिल्लामा रक्त सञ्चार केन्द्र अर्थात् ब्लड बैंक नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । जिल्ला अस्पताल, कोल्टी आधारभूत अस्पताल कोल्टी लगायतका अस्पतालमा ब्लड बैंक नहुँदा रक्त अभावका विरामीलाई दिनहुँ समस्या हुने गरेको छ । यो समस्या केवल एक अस्पतालको मात्र नभई सिंगो जिल्लाकै बिकराल समस्याको रुपमा रहेको छ ।
दिनहुँ रगतको समस्या भइरहँदा पनि बाजुरामा अहिलेसम्म दिर्घकालीन आकस्मिक रक्तसञ्चार केन्द्र (ब्लड बैंक) स्थापना हुन सकेको छैन । आकस्मिक रक्त सञ्चार सेवा केन्द्र नाम दिएको केन्द्रमा समेत रगत अभाव छ ।
रक्त संकलन गर्न ल्याइएको डि–फ्रिज समेत जनशक्ति र प्राविधिकको कमीका कारण थन्किएको छ । बाजुरामा कयौं घटनामा घाईते भएका व्यक्ति, सुत्केरी तथा रगतको अभावमा छट्पटाई रहेकालाई दाताको सहयोगमा रगत संकलन गर्नुपर्ने बाध्यता छ ।
जिल्ला अस्पताल बाजुरामा ब्लड बैक नहुदा रगतको अभावले आकस्मिक प्रसुति सेवा र अप्रेसन सेवा प्रभावित हुने गरेको छ । विरामिका आफ्mन्तले रगत खोजपछि मात्र विरामिको अप्रेसन गर्नु पर्ने अवस्था रहेको छ ।
अस्पतालमा रगत चाहिने विरामी गर्भवती सुत्केरी तथा बिरामी आएमा सेना प्रहरी, पत्रकार र समाजसेवी, स्वास्थ्यकर्मिहरूलाई अनुरोध गरेर विरामिलाइ रगत दिनुपर्ने बाध्यता रहेको छ ।
यहाँ एक हप्तामा १० देखी १५ जना भन्दा बढीलाई रगत आवश्यक पर्ने गरेको छ । ब्लड बैक सञ्चालनका लागि २०७५ सालमा सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला मन्त्रालयबाट १२ लाखको एकवटा डि–फ्रिज र नेपाल रेडक्रस सोसाइटीबाट ५ लाखको १ वटा गरि दुइवटा फ्रिज ब्लड सञ्चालनका लागि जिल्ला अस्पताल बाजुरालाई हस्तान्तरण गरिएको थियो ।
२०६६ सालमा ब्लड बैक स्थापन गरि सकेको भएपनि २०८२ सालमा वैशाख १२ गते फेरि सुदुरपश्चिमका सामाजिक मन्त्री मेखराज खड्काले ब्लड बैक नियमितताका लागि नेपाल रेडक्रस सोसाइटी बाजुरा र जिल्ला स्वास्थ्य कार्यालयको सयुक्तरूपमा उद्घाटन गरेका थिए । सञ्चालन गरेको सुरुवातको केही महिना सञ्चालनमा आएपनि हाल भने अलपत्र अवस्थामा छ ।
