News 24 Television
कामी रितालाई पछ्याउँदै पासाङ दावा, ल्हाक्पा र कुलको कीर्तिमान !

काठमाडौं । सन् २०२६ को बसन्त सिजन सगरमाथाका लागि ऐतिहासिक बनेको छ । यो सिजनमा एकैदिन २७४ आरोही चुचुरो पुगेका छन् भने कामी रिता र ल्हाक्पा शेर्पाले आफ्नै विश्व कीर्तिमान तोडे । बेलायती आरोही केन्टन कूलले पनि सबैभन्दा धेरै सगरमाथा चढ्ने विदेशीको कीर्तिमान बनाएका छन् । 

यो वर्ष २०२६ को बसन्त सिजनमा सगरमाथामा आरोहण सिजनमा धेरै विश्व कीर्तिमान बनेका छन् । पर्यटन विभाग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाहरूमा उल्लेख भएको अनुसार यो वर्षको बसन्त सिजनमा बनेका मुख्य ५ विश्व कीर्तिमानहरु यस्ता रहेका छन् । 

१. एकै दिन सबैभन्दा धेरै आरोहण

यो वर्षको पहिलो सिजनमा एकैदिन सबैभन्दा धेरैले आरोहण गरेर नयाँ विश्व कीर्तिमान बनेको छ । २०२६ मे २० मा नेपालको तर्फबाट एकैदिन २७४ जनाले सगरमाथाको सफल आरोहण गर्दै यो कीर्तिमान बनेको हो । यसअघि सन् २०१९ मा एकैदिन २२३ जनाले सगरमाथाको चुचुरोमा पुगेर यो कीर्तिमान बनाएका थिए । 

२. कामी रिताले तोडे आफ्नै कीर्तिमान 

यो सिजनको शुरुवाततिरै कीर्तिमानी नेपाली आरोही कामी रिता शेर्पाले आफ्नै विश्व कीर्तिमान तोडे । सगरमाथा सबैभन्दा धेरैपटक आरोहण गर्ने कीर्तिमान ५६ वर्षीय कामी रिताको नाममा छ । ३१ पटक सगरमाथा आरोहण गरिसकेका कामी रिताले ३२ औं पटक सगरमाथा पुग्दै आफ्नै कीर्तिमान तोडेका हुन् । सगरमाथा क्षेत्रबाट शुक्रवार काठमाडौँ फर्किएका एभरेस्ट म्यान कामी रिताको भव्य स्वागत गरिएको छ । 

३. ल्हाक्पा शेर्पाको विश्व कीर्तिमान 

सगरमाथामा सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने महिला आरोहीको कीर्तिमान पनि तोडिएको छ । माउन्टेन क्वीन नामले चिनिने नेपाली आरोही ल्हाक्पा शेर्पाले ११ औं पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान तोडेकी हुन् । 

४. कामी रितालाई पछ्याउँदै पासाङ दावा 

सगरमाथामा दोस्रो सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमान नेपाली आरोही पासाङ दावा शेर्पाको नाममा रहेको छ । उनले ३१ पटक सगरमाथा आरोहण गरिसकेका छन् । उनी यही सिजनमा २ पटक सगरमाथा पुगेका हुन् । उनीभन्दा अगाडि ३२ पटक सगरमाथा आरोहण गरेका कामि रिता शेर्पा छन् । 

५. सबैभन्दा धेरै सगरमाथा पुग्ने विदेशी 

प्रख्यात बेलायती पर्बतारोही केन्टन कूलले २० औं पटक सगरमाथाको चुचुरो सफलतापूर्वक आरोहण गरेका छन् । शुक्रवार सगरमाथाको चुचुरोमा पुगेका उनी सबैभन्दा धेरैपटक सगरमाथा पुग्ने विदेशी आरोही हुन् । ५२ वर्षका कुलले पनि आफ्नै कीर्तिमान तोड्न सफल भएका हुन् । 

यी मुख्य कीर्तिमान बाहेक पनि सगरमाथामा यो सिजनमा धेरै कीर्तिमान बनेका छन् । १८ वर्षीय बिआन्का एड्लरले सबैभन्दा कान्छी अष्ट्रेलियाली सगरमाथा आरोहीको कीर्तिमान बनाएकी छन् । 

त्यस्तै यो सिजनमा सबैभन्दा धेरैले सगरमाथा आरोहणको अनुमति लिएका छन् भने अहिलेसम्म ५ सयभन्दा बढि सगरमाथा चढिसकेका छन् । यो पनि एउटै सिजनमा सबैभन्दा धेरै सगरमाथा पुग्ने कीर्तिमान हो । 

प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update