सप्तरी । सप्तरीका ग्रामिण भेगका स्थानीय आर्थिक सशक्तिकरण कार्यक्रम अन्तर्गत सहयोग पाएसंगै व्यापार व्यवसाय गर्न थालेका छन् । स्थानीय बजारको मागको आधारमा आफ्नो सीप र मेहनतले उनीहरू स्वरोजगारमा जुटेका हुन् । नयाँ प्रविधिको प्रयोग गर्दै व्यवसाय गरेर जीवनस्तर उकासिएको उनीहरुको अनुभव छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडाका प्रमोद मंडल शारिरिक रूपले फरक क्षमता भएका व्यक्ति हुन् । कृषक समुहमा जुटेका उनी र उनकी श्रीमतीले अहिले घर अगाडिको बारीमा फूलको खेती गर्छन् । लगभग एक कठ्ठामा यस दुई महिनाको सिजनमा उनले फुल बेचेर ३५ हजार नाफा आर्जन गरेको बताउँछन् ।
नजिकमा सखडा मन्दिर भएकोले यहाँ फूलको माग अत्यधिक रहेको छ । यस क्षेत्रमा प्रयाप्त मात्रामा फूल उत्पादन नहुँदा भारतबाट आयत गर्नुपर्ने बाध्यता थियो । फुल व्यवसायीको अवसरलाई मध्यनजर गर्दै उनले खेती सुरू गरे । अहिले उनी यस सिजनमा खेतीलाई झन फैलाउने योजना बनाइरहेका छन् । उनीसँगै सो टोलमा पाँच जनाले फूल उत्पादन गर्न लागेका छन् ।
त्यस्तै सोही ठाउँकी आरती पंडित आफ्नो पुर्खौली पेशा माटोको वर्तन बनाउन एकदमै मेहनत गरिरहेकी छन् । पुरानो परम्परागत माटो बनाउने उपकरणलाई विस्थापित गर्दै नयाँ प्रविधिको प्रयोग गरेर उनी पहिला भन्दा २० गुणा बढी वर्तन दैनिकी बनाइरहेकी छन् । चाडपर्वमा प्रयोग हुने माटोको वर्तन सँगसँगै अहिले माटोको चिया गिलासको माग बढेपछि उनी त्यसमा केन्द्रित छिन् ।
सोही गाउँपालिका–५ लोखरमकी जशो महतोले पनि तरकारी खेतीमा निकै उत्पादन गरिरहेकी छन् । खेतीबारिबारे तालिम प्राप्त गरेर नयाँ प्रविधिको प्रयोग गर्दै तरकारी खेतीमा निकै आम्दानी गरिरहेकी बताउँछिन् । सफ्रोस नेपाल र दिदिबहिनी संस्थाले संचालन गरेको ग्रामिण महिला आर्थिक सशक्तिकरण कार्यक्रम अन्तर्गत सहयोग पाएर व्यवसायीमा आम्दानी गर्न पाउँदा उनीहरू निकै हर्षित बनेका छन् ।
यस्तै तिलाठी कोइलाडी गाउँपालिका वडा नं ३, ४ र ५ की आशादेवी राय, पार्वती साह, जितनी मुखिया लगायतका किसानहरू पनि खेती, किराना पसल, पशुपालनमा आफ्नो भविष्य निर्धारण गरिरहेका छन् । यो कार्यक्रममा सिरहा र सप्तरी गरि ५ हजार ५ सय महिला र ५ सय पुरुषलाई जोड्ने लक्ष्य रहेको संस्थाले जनाएको छ ।
