कास्की । पोखरा महानगरपालिकाले बजारको बीच भाग भएर बग्ने फिर्के खोलामाथिको अतिक्रमण हटाउन आईतबारदेखि डोजर अभियान सुरु गरेको छ । ३५ दिने अल्टिमेटम सकिएसँगै महानगरले तीन स्थानबाट एकैसाथ अवैध संरचना हटाउने काम अघि बढाएको हो ।
पोखराको मुटु भएर बग्ने फिर्के खोलामाथि वर्षौंदेखि फैलिएको अतिक्रमण हटाउन पोखरा महानगरपालिका अन्ततः कडा रूपमा उत्रिएको छ । महानगरले दिएको ३५ दिने अल्टिमेटम सकिएसँगै आइतबारदेखि खोला क्षेत्रमा बनेका अवैध संरचनामाथि डोजर चलाउन सुरु गरेको हो । वर्षायाम नजिकिँदै गर्दा बाढी, डुबान र जलप्रवाह अवरुद्ध हुने जोखिम बढेपछि खोलाको प्राकृतिक स्वरूप जोगाउन अभियान अघि बढाइएको महानगरले जनाएको छ ।
अभियान अन्तर्गत महानगरले तीन स्थानबाट एकैसाथ संरचना हटाउने काम थालेको छ । पहिलो टोलीले अन्धेरिकुनादेखि वडा नम्बर ४ तर्फ, दोस्रो टोलीले फिर्केपुल क्षेत्रदेखि वडा नम्बर ५ र ८ तर्फ तथा तेस्रो टोलीले जिरो किलोमिटरस्थित लायन्स भवन क्षेत्रदेखि वडा नम्बर ६ तर्फका संरचना हटाइरहेको छ । त्यस्तै यता फिर्के खोलामाथिको अतिक्रमण हटाउने कदम निकै सह्रानीय भएको र अतिक्रमित जग्गा कुनैपनि हलमा खाली गराउनुपर्ने सामाजिक अभियन्ता रामबहादुर पौडेल बताउँछन् ।
ठूलो संख्यामा एक्साभेटर, जेसीबी र टिपर तथा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । बिहान १० बजेदेखि सुरु भएको अभियान साँझसम्म निरन्तर सञ्चालन हुने महानगरले जनाएको छ । यता जनप्रतिनिधिहरू भने खोला संरक्षणमा कुनै सम्झौता नहुने बताउँदै अतिक्रमित जग्गामा कुनैपनि डोजर चल्ने र सुकुम्बासीको हकमा भने व्यवस्थापनपछि मात्र थप कडा कदम चालिने बताइएको छ ।
फिर्के खोलामाथिको अतिक्रमण हटाउने महानगरको यो कदमलाई धेरैले पोखराको भविष्य जोगाउने अभियानका रूपमा हेरेका छन् । वर्षौंदेखि साँघुरिएको खोला खुलाउन सुरु भएको यो अभियानले बाढी र डुबानको जोखिम घटाउने अपेक्षा समेत गरिएको छ । तर, खोला छेउमा बसेका सुकुम्बासीको व्यवस्थापन तथा उचित पुनस्र्थापना कसरी हुन्छ भन्ने विषय अब महानगरका लागि अर्को ठूलो परीक्षा बनेको छ ।
