News 24 Television
डा. हरि कार्की रास्वपाको केन्द्रीय सहकारी विभागमा, लौरो अभियानसँगको समायोजन प्रक्रिया पनि तीव्र

पोखरा । वैकल्पिक राजनीति, सामाजिक जागरण तथा शिक्षा क्षेत्रका सक्रिय अभियन्ता डा. हरि कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सहकारी विभाग सदस्यमा नियुक्त हुनुभएको छ।

स्थानीय तहलाई निर्दलीय बनाउने अटेरी अभियानका संस्थापक सदस्य, लौरो अभियानका केन्द्रीय प्रवक्ता, नागरिक बचाउ अभियानका अध्यक्ष मण्डल सदस्य तथा संगठन विभाग प्रमुख, नागरिक विद्रोहका संयोजक लगायतका भूमिकामार्फत चिनिनुभएका डा. कार्की लामो समयदेखि वैकल्पिक राजनीतिक अभ्यासमा सक्रिय रहँदै आउनुभएको छ।

२६ वर्षभन्दा बढी वित्त तथा लेखाशास्त्र विषय अध्यापन अनुभव बोकेका उहाँ हाल हिमाल कलेज अफ म्यानेजमेन्टका क्याम्पस प्रमुखसमेत हुनुहुन्छ। शिक्षा, वित्तीय सुशासन तथा संगठन व्यवस्थापनमा रहेको अनुभवका आधारमा उहाँको नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यसैबीच, पार्टी र विभिन्न सामाजिक–राजनीतिक समूहबीचको समायोजन प्रक्रियाअन्तर्गत डा. कार्की लौरो अभियानको तर्फबाट रास्वपासँग सम्बद्ध हुनुभएको जानकारी प्राप्त भएको छ। साथै, देशभर रहेका लौरो अभियानका अभियन्ताहरूलाई समेत चरणबद्ध रूपमा समायोजन गर्ने प्रक्रिया अगाडि बढिरहेको स्रोतले जनाएको छ।

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान, बचतकर्ताको विश्वास पुनःस्थापना, वित्तीय पारदर्शिता तथा नीतिगत सुधारमा डा. कार्कीको अनुभव उपयोगी हुने अपेक्षा गरिएको छ।

राजनीतिक वृत्तमा वैकल्पिक शक्ति र सामाजिक अभियानबीचको सहकार्यलाई नयाँ दिशातर्फ लैजान सक्ने कदमका रूपमा समेत यस घटनालाई हेरिएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update