सर्लाही । सर्लाहीको रानीगञ्जमा ३५ वर्ष अगाडि निर्माण गरिएको खानेपानी आयोजनाको ट्याङ्की चुहिन थालेको छ । खानेपानी जम्मा गर्ने ट्याङ्की र पाइपबाट पानी चुहिन थालेपछि रानीगञ्ज खानेपानीका उपभोक्ताले आवश्यक पानी पाएका छैनन् । अहिले थोरै समय मात्र खानेपानी वितरण गरिएको छ ।
सर्लाहीको रानीगञ्जमा ३५ वर्ष अगाडि निर्माण गरिएको खानेपानीे ट्याङ्की जीर्ण भई पानी चुहिन थालेको छ । खानेपानीको ट्याङ्की चुहिन थालेपछि कुल क्षमताको पानी संकलन हुन सकेको छैन ।
दुई लाख २५ हजार लिटर क्षमताको उक्त ट्याङकी २०४६ सालमा निर्माण भइ सञ्चालनमा आएको थियो । उक्त ट्याङकी जीर्ण भई पानी चुहिने अवस्थामा आइपुग्दा पनि मर्मतका लागि बजेट उपलब्ध हुन सकेको छैन । कहिँ कतैबाट बजेट नआउने र उपभोक्ताले मात्रै पैसा उठाएर मर्मत गर्न सक्ने अवस्था नरहेकाले समस्या बढेको उपभोक्तहरु बताउँछन् ।
पहिले रानीगञ्ज गाविस हुँदा तीनओटा वडाबासीले मात्र ट्याङ्कीको पानी प्रयोग गर्ने गरेका थिए । अहिले नगरपालिका भएसँगै पानी प्रयोगकर्ताको संख्या बढेको छ । अहिले २५०० घरधुरीका उपभोक्ताले पानी उपभोग गर्दै आएका छन् ।
ट्याङ्की चुहिने र ट्याङकी निकै जीर्ण अवस्थामा पूगेकाले ट्याङ्कीकी लागि धेरै लोड दिन नहूने प्राबिधिकहरु बताउँछन् । उपभोक्ताको संख्यामा वृद्धि हुनुका साथै ट्याङकी जीर्ण भई पानी चुहिन थालेपछि समस्या थपिएको उपभोक्ता समितिका अध्यक्ष पुरुषोत्त पौडेल बताउछन् ।
२०७२ सालको भुकम्पले समेत क्षति पु¥याएको खानेपानी ट्याङ्की मर्मत र क्षमता विस्तारका लागि चाहिने बजेट अभावका कारण पुर्ननिर्माण हुन सकेको छैन । ट्याङ्कीको क्षमता वृद्धि तथा नयाँ ट्याङ्की निर्माणका लागी पटक पटक स्थानीय सरकार , प्रदेश सरकार र केन्द्र सरकारलाई समेत स्थानीयले जानकारी गराए पनि सम्बन्धित निकायले चासो नदेखाएको स्थानीय जनप्रतिनिधिहरुको भनाई छ ।
नागरिकको खानेपानी जस्तो समस्यालाई नयाँ योजनाभित्र पारिएको छैन । २०८१\०८२ को योजनामा ट्याङ्की निर्माण भनेर १ करोड बिनियोजन गर्नुपर्ने माग भए पनि सरकारले १० लाख विनियोजन थियो । २०८२\०८३ मा गूणस्तर सूधारमा २५ लाख परेको र सो रकमले टेन्डर लगाउन नमिल्ने भएपछि रकम फ्रिज भएको थियो ।
त्यतिमात्र होइन पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति भन्दै दायाँ बायाँ २५\२५ मिटर सडक विस्तारका कारण पनि रानीगञ्ज बासीलाई खानेपानीको समस्या थपिएको छ । सडक विस्तारका लागि प्रयोग गरिएका डोजरले वडाका धेरै ठाउमा खानेपानीको पाइपमा क्षति पु¥याएको छ ।
