सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोला आसपास क्रसर उद्योगको जथाभावी उत्खननले प्राकृतिक बहाव बिगारेको छ । सिँचाइ कुलो सुक्दा किसान वर्षौंदेखि सिँचाइ अभाव र कृषि संकट भोगिरहेका छन् ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाका फाँटहरू जिल्लाकै प्रमुख खेतीयोग्य क्षेत्र हुन् । भीमटार, भोटसिपा, न्यौपानेटारदेखि मेलम्ची बजार र बाहुनेपाटीसम्म किसानले वर्षभरि धान, गहुँ, तोरी, मसुरो, आलु र मकै खेती गर्छन् । तर पछिल्लो एक दशकयता नदीजन्य पदार्थको अत्यधिक दोहन र क्रसर उद्योग विस्तारले कृषि प्रणाली प्रभावित भएको छ ।
खेतमा धूलो र बालुवाका कण बढ्दा उर्वराशक्ति घटेको छ भने खोलाको सतह गहिरिँदा सिँचाइ कुलोमा पानी नचढ्ने समस्या बढ्दै गएको किसानको गुनासो छ ।
स्थानीयका अनुसार खोलाको धार परिवर्तन भई वर्षेनी कटान बढ्दा खेत साँघुरिँदै बगरमा परिणत हुँदैछ । क्रसर उद्योगको धुलोले बालीमा रोग लाग्ने, उत्पादन घट्ने र तरकारी खेती प्रभावित भएको छ । बालुवा प्रशोधन केन्द्रका कारण खानेपानीका मुहान सुक्दै गएका छन् ।
त्यसैगरी हेभी उपकरणको आवाज, धुलो र कम्पनले स्थानीयको जनजीवन कष्टकर बनेको छ ।
स्थानीय किसानका अनुसार पहिले वर्षभरि पानी बग्ने कुलो अहिले हिउँदमा सुक्छ । सिँचाइ अभावले खेत बाँझो बन्न थालेको छ । उत्पादन घटेपछि युवा वैदेशिक रोजगारीतर्फ जान बाध्य बनेका छन् । क्रसर उद्योगको धुलो माटोले इन्द्रावती नदी वर्षभरि धमिलो बग्छ । कुलो मासिने र प्राकृतिक स्रोत नष्ट हुने समस्या बढ्दो छ ।
स्थानीयवासीले नदीजन्य पदार्थ उत्खनन मापदण्डविपरीत भइरहेको आरोप लगाएका छन् । राति समेत उत्खनन हुने, नदीको बहाव बदलिने गरी गहिरो खाल्डा खन्ने र बस्ती नजिक उद्योग चल्दा पनि नियमक निकाय मौन रहेको उनीहरूको गुनासो छ । जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठले अनुगमनमा मापदण्ड नपुगेको स्वीकार गरेका छन् ।
पटक–पटक अनुगमन र मापदण्ड कार्यान्वयनको प्रतिबद्धता भएपनि किसानले व्यवहारमा सुधार नदेखिएको गुनासो गरेका छन् । उनीहरूले अवैज्ञानिक उत्खनन रोक्न, कुलो संरक्षण, नदी पुनःसंरचना र क्षतिपूर्ति माग गरेका छन् ।
