News 24 Television
विश्व वातावरण दिवस : 'एक बालबालिका, एक बिरुवा' राष्ट्रिय अभियान घोषणा

काठमाडौँ । नेपाल सरकारले यस वर्षको विश्व वातावरण दिवसका लागि तय गरेको “समृद्ध भविष्यको आधार: जलवायु एवम् प्रकृतिमैत्री विकास” भन्ने मूल नारालाई आत्मसाथ गर्दै वर्ल्ड भिजन इन्टरनेसनल नेपाल (WVI Nepal) ले राष्ट्रिय अभियान घोषणा गरेको छ। संस्थाले जुन ५ (जेठ २२ गते) पर्ने विश्व वातावरण दिवसको अवसरमा देशभर "एक बालबालिका, एक बिरुवा" (One Child, One Tree) नामक वृहत् अभियान सञ्चालन गर्ने भएको हो।

यस अभियान अन्तर्गत नेपालका हिमाल, पहाड र तराई गरी तीनवटै भौगोलिक क्षेत्र समेटेर करिब ८० हजार बालबालिकालाई परिचालन गरिनेछ। जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिको चुनौतीविरुद्ध बालबालिकाहरू आफैँ जागरुक भई आफ्नो र समुदायको भविष्य सुरक्षित गर्न यसमा संलग्न हुनेछन्। बालबालिकाहरू परिवर्तनका संवाहक हुन् र उनीहरूले आफ्नो भविष्यको खाका आफैँ कोर्न सक्छन् भन्ने विश्वासका साथ उनीहरूलाई जलवायु समाधानमा सक्रिय सहभागी बनाउन यो पहल सुरु गरिएको संस्थाले जनाएको छ।

WhatsApp-Image-2026-06-04-at-17.33.54-(1)-1780575702.jpeg
विशेषगरी बालबालिकाहरूमाझ रहेको कुपोषणको समस्यालाई सम्बोधन गर्न यो अभियानमा फलफूलका बिरुवा रोप्ने कार्यलाई प्राथमिकता दिइएको छ। स्थानीय परिस्थितिकीय प्रणाली (Ecological context) सुहाउँदो बिरुवाहरू छनोट गर्न स्थानीय सरकार र जिल्ला वन कार्यालयहरूसँग समन्वय गरिएको छ। अभियानका क्रममा १०० भन्दा बढी विद्यालय तथा सामुदायिक समूहहरूलाई समेत सहभागी गराइनेछ। यसरी रोपिने बिरुवाहरू बालबालिकाले आफ्ना परिवार, शिक्षक र स्थानीय सरकारको समन्वयमा आ–आफ्नो घर र समुदायमा रोप्नेछन्।

अभियानलाई प्रभावकारी र दीर्घकालीन बनाउन वृक्षारोपणसँगै वातावरणीय सचेतना र अपनत्व वृद्धि गर्ने उद्देश्यले प्रत्येक बिरुवाका लागि 'मेरो बिरुवा कार्ड' (My Tree Card) उपलब्ध गराइनेछ। उक्त कार्डमा बिरुवाका फाइदाहरू उल्लेख हुनुका साथै यसले बालबालिकामा बिरुवाको हेरचाह गर्ने जिम्मेवारी बोध गराउने विश्वास लिइएको छ। रोपिएका बिरुवाहरूको संरक्षण र बाँच्ने दर सुनिश्चित गर्न वर्ल्ड भिजनका फिल्ड टोली र शिक्षकहरूले रोपेको तीन र छ महिनामा नियमित अनुगमन समेत गर्नेछन्।

WhatsApp-Image-2026-06-04-at-17.15.16-(5)-1780575702.jpeg
वर्ल्ड भिजन इन्टरनेसनल नेपालका प्राविधिक कार्यक्रम सह-निर्देशक प्रकाश तिवारीका अनुसार यो अभियान बालबालिकालाई बाल्यकालदेखि नै प्रकृतिप्रति माया र दायित्वबोध गराउँदै वातावरणीय संरक्षक बनाउने लक्ष्यमा केन्द्रित छ। जलवायु परिवर्तनको बढ्दो जोखिमका बीच बालबालिका र समुदायलाई केन्द्रमा राखेर प्राकृतिक स्रोतको पुनरुत्थान गर्न तथा नेपालका प्रत्येक बालबालिकाको समृद्ध भविष्य सुनिश्चित गर्न संस्था निरन्तर क्रियाशील रहने प्रतिबद्धता प्रेस विज्ञप्तीमार्फत व्यक्त गरिएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update