काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानले शक्तिको आडमा वित्तीय संयन्त्र दुरुपयोग गरी सर्वसाधारणको पैसामाथि रजाइ गरिएको खुलासा गरेको छ ।
दुई वर्ष गुपचुप राखिएको यो प्रकरणमा दीपक भट्ट र शंकर ग्रुपमाथि अनुसन्धान टुंग्याई सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरसहित पाँच मुद्दा चलाउन प्रतिवेदन पेस गरिएको छ ।
उद्योगका नाममा बैंकबाट ऋण उठाएर व्यक्तिगत खातामार्फत सेयर बजारमा चलखेल गर्ने अर्बौँको वित्तीय अपराधमा बिचौलिया दीपक भट्ट र शंकर ग्रुपका सुलभ अग्रवाल मुख्य योजनाकार रहेको निष्कर्षसहित सिआइबीले अनुसन्धान टुंग्याएको छ ।
धितोपत्र, बिमा र बैंकिङ कसुरमा अनुसन्धान पूरा गर्दै धितोपत्र कसुरमा दुई छुट्टाछुट्टै मुद्दा दर्ता गर्न सिफारिस गरिएको छ । अनुसन्धानमा जगदम्बा स्टिल्सले हिमालयन बैंकबाट लिएको ५४ करोड रुपैयाँ कर्जा मिलेमतोमा दीपक भट्टको व्यक्तिगत खातामा सारेर दुरुपयोग गरिएको खुलेको छ ।
नेपाल राष्ट्र बैंकका विज्ञसमेत संलग्न अनुसन्धानले कर्जाको उद्देश्यविपरीत रकम प्रयोग भएको पुष्टि गरेको छ । दुई वर्षअघि नै तथ्य खुले पनि तत्कालिन सरकारको संरक्षणका कारण कारबाही रोकिएको आरोप छ ।
सेयर बजारसम्म फैलिएको ठगीमा भट्ट–शंकर समूहको मिलेमतोमा सर्कुलर ट्रेडिङमार्फत कृत्रिम कारोबार गरी सर्वसाधारणलाई आर्थिक रूपमा डुबाइएको आरोप छ ।
सिआइबीका अनुसार धितोपत्र कसुरमा १० कम्पनी र ७० भन्दा बढी व्यक्तिको संलग्नता देखिएको छ । हिमालयन रि–इन्स्योरेन्सका सञ्चालक तथा सीईओहरू समेत मतियार बनेको निष्कर्ष निकालिएको छ ।
धितोपत्र कसुरमा संलग्न १० ठूला कम्पनीहरू
हिमालयन रि–इन्स्योरेन्स
नेपाल माइक्रो इन्स्योरेन्स
हिमालयन सेक्युरिटी बैंकर लिमिटेड
हिमालयन क्यापसर्भ लिमिटेड
हिमालयन इन्भेष्टमेन्ट बैंक लिमिटेड
क्रेस्ट माइक्रो इन्स्योरेन्स
प्रो–एक्टिभ माइक्रो इन्स्योरेन्स
हिमालयन लाइफ इन्स्योरेन्स
गार्जियन माइक्रो लाइफ
भृकुटी स्टक ब्रोकर (५५ नम्बर ब्रोकर – जुन हाल निलम्बित छ)
क–कसलाई मुद्दा चलाउन सिफारिस ?
सीआईबीको निष्कर्षअनुसार यो कर्पोरेट मिलेमतोमा आधारित संगठित वित्तीय अपराध हो । जसमा प्रतिष्ठित उद्योगी, बिचौलिया र संस्थागत नेतृत्वको सञ्जाल जोडिएको छ । यो प्रकरणको केन्द्रमा हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा, बिचौलिया दीपक भट्ट र शंकर ग्रुपका सुलभ अग्रवाल रहेका छन् ।
सीआईवीहरु उनीहरुलाई मुख्य योजनाकारका रूपमा प्रतिवादी बनाइएको छ । मुद्दा सिफारिसको सूचीले पूरै कर्पोरेट इकोसिस्टम हल्लाएको छ । हिमालयन रि–इन्स्योरेन्सका सञ्चालक अमित मोर, राजीव मोर, सुभेच्छा खरेल, मनीष कुमार तथा सीईओ उपासना पौडेलमाथि समेत कानुनी कारबाही सिफारिस गरिएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सका सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, बद्रि सिग्देल, प्रविना दाहाल र सुजल मल्ललाई प्रतिवादी बनाइ मुद्दा चलाउन सिफारिस भएको छ । त्यस्तै, हिमालयन सेक्युरिटी बैंकर लिमिटेडका सीताराम वाग्ले र आकांक्षा गुप्ताको मिलेमतो रहेको सिआइबीको निष्कर्ष छ । हिमालयन क्यापसर्भका अध्यक्ष शिशिर गैह्रेविरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरिएको छ भने हिमालयन इन्भेष्टमेन्ट बैंकरका सञ्चालकहरू कपिलकुमार दाहाल, राजनप्रसाद अधिकारी, बिनु घिमिरे, नारायणकुमार अधिकारी, उत्सव प्रधानांग, सुभाष पौडेल, शालिनी संघई र प्रतीक जोशीलाई मुद्दा चलाउन सिफारिस गरिएको छ ।
क्रेस्ट माइक्रो इन्स्योरेन्सका विदुर पुरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका डा.जयप्रकाश जैसवाल, उद्धवनारायण भट्टराई, प्रमोदप्रसाद भट्टराई, ज्योति अग्रवाल, नवराज मुडभरी, चिरायु भण्डारी, ज्योतिप्रकाश पाण्डे र समीर खरेलमाथि पनि मुद्दा चल्ने भएको छ ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका कीर्तिका अग्रवाल, दिनेश सरिया, हिमालयन लाइफ इन्स्योरेन्सका विवेककुमार शाह, लक्ष्मण ज्ञवाली, राजीवप्रसाद प्याकुरेल, आशिष ढकाल, सौरभ दुगड, सचिन आचार्य, प्रमिला केसी र दिगम्बर झासहित ७० जना अनुसन्धानमा तानिएका छन् ।
सीआईबीको निष्कर्ष अनुसार सेयर बजारमा सर्कुलर ट्रेडिङमार्फत झुटा कारोबार गरिएको थियो भने यसमा ५५ नम्बर भृकुटी स्टक ब्रोकरले सहयोगी देखिएको छ । धितोपत्र बोर्डले भृकुटीलाई निलम्बन गरिसकेको छ र उक्त ब्रोकरविरुद्ध मुद्दा चलाउने तयारी छ ।
सुरुमा धितोपत्र तथा बिमा सम्बन्धी कसुरमा मुद्दा चलाइने छ भने पछि सम्पत्ति शुद्धीकरण मुद्दा समेत चलाउने तयारी छ ।
सीआईबीले जेठ १४ गते हिमालयन रि–इन्स्योरेन्स सहित पाँच कम्पनीको ३ अर्ब ७३ करोड रुपैयाँ दुरुपयोग गरी व्यक्तिगत लाभका लागि सेयर खरिद प्रकरणमा दीपक भट्ट र शुलभ अग्रवाल सहित ४० भन्दा धेरैविरुद्ध बिमा कसुरमा पाँच वर्ष कैद सिफारिस गरेको छ ।
