News 24 Television
विद्युतीय उपकरण नष्ट गर्दा राज्यका निकायमाथि प्रश्न, गोपनियताको सवाल पेचिलो बन्दै

सिरहा । माध्यमिक शिक्षा परीक्षा (एसईई)को मर्यादा कायम राख्ने नाममा सिरहामा परीक्षार्थीहरूबाट जफत गरिएका करिब पाँच सय थान मोबाइल फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएको छ ।

यसको पक्ष र विपक्षमा तीव्र बहस सुरु भएको छ। जिल्ला परीक्षा समन्वय समिति सिरहाले बिहीबार जिल्ला प्रहरी कार्यालय सिरहाको प्राङ्गणमा विशेष कार्यक्रम आयोजना गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका मोबाइल तथा स्मार्टवाच नष्ट गरेको हो। 

स्थानीय तहका जनप्रतिनिधि, शिक्षा क्षेत्रका पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थितिमा गरिएको उक्त कार्यमा सात थान आईफोन, ४८९ थान एन्ड्रोइड मोबाइल र पाँच थान स्मार्टवाच नष्ट गरिएको छ। 

जफत गरिएका उपकरणहरूको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरिक्षक सुनील चौरसियाले मोबाइल नष्ट गर्ने निर्णय प्रहरीको नभई जिल्ला परीक्षा समन्वय समितिको सामूहिक निर्णय भएको स्पष्ट पारे। 

२४ घण्टा पानीमा डुबाइयो, वाटरप्रुफ फोन फुटाइयो

जिल्ला परीक्षा समन्वय समितिको निर्णयअनुसार जफत गरिएका अधिकांश मोबाइल फोनलाई पानी भरिएको ड्रममा २४ घण्टासम्म डुबाएर नष्ट गरिएको थियो। पानी प्रतिरोधी (वाटरप्रुफ) सेटहरूलाई भने फुटाएर पानीमा हालिएको थियो। 

उपकरण व्यवस्थापनका लागि शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका शाखा अधिकृत राजदेव यादवको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि सम्मिलित पाँच सदस्यीय उपसमिति गठन गरिएको थियो। 

उपसमितिका संयोजक यादवले कुनै पनि उपकरण पुनः प्रयोग हुन नसक्ने गरी प्राविधिक रूपमा नष्ट गरिएको दाबी गरे।

शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन

मधेस प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले एसईई परीक्षामा मोबाइल वा विद्युतीय उपकरण प्रयोग गरेको पाइएमा जफत गरी नष्ट गरिने सार्वजनिक घोषणा गरेकी थिइन्। सोही निर्देशन तथा परीक्षा सञ्चालन निर्देशिका उल्लंघन भएको निष्कर्षसहित जिल्ला परीक्षा समन्वय समितिले मोबाइल नष्ट गर्ने निर्णय गरेको जनाइएको छ।

सामाजिक सञ्जालमा चर्को आलोचना

मोबाइल नष्ट गरिएको भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आउन थालेका छन्। धेरै प्रयोगकर्ताले लाखौं रुपैयाँ मूल्यका उपकरण नष्ट गर्नुको सट्टा जरिवाना तिराएर सम्बन्धित व्यक्तिलाई फिर्ता दिनुपर्ने वा सरकारी प्रक्रिया पूरा गरी लिलाम गरेर प्राप्त रकम शिक्षा क्षेत्रको सुधारमा खर्च गर्नुपर्ने सुझाव दिएका छन्। 

कतिपयले विदेशमा रहेका अभिभावकले कठिन परिश्रम गरेर आफ्ना छोराछोरीका लागि पठाएका महँगा मोबाइल नष्ट गर्नु अमानवीय भएको टिप्पणी गरेका छन्। उनीहरूले सजाय दिनुपर्ने भए पनि सम्पत्ति नै नष्ट गर्नु उचित नहुने तर्क गरेका छन्।

यता, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ज्वाला संग्रौलाले पनि यो घटनाप्रति ध्याणाकर्षण भएको भन्दै कडा आक्रोश पोखेकी छन्।

गोपनीयताको प्रश्न 

यस घटनासँगै मोबाइलभित्र रहेका व्यक्तिगत विवरणको सुरक्षाबारे पनि प्रश्न उठेको छ। आधुनिक स्मार्टफोनमा बैंकिङ एप, नागरिकता तथा अन्य व्यक्तिगत कागजातका प्रतिलिपि, सामाजिक सञ्जालका पहुँच विवरण, व्यक्तिगत तस्बिर तथा संवेदनशील जानकारी सुरक्षित हुने भएकाले मोबाइल नष्ट गर्नु अघि त्यसको डेटा सुरक्षाको विषयलाई समेत ध्यान दिनुपर्ने आवाज उठ्न थालेको छ। प्रविधि क्षेत्रका जानकारहरूका अनुसार मोबाइल नष्ट गर्दा त्यसभित्र रहेको डिजिटल जानकारीको व्यवस्थापन कसरी गरियो भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

शिक्षा अनुशासन कि सम्पत्ति विनाश ?

एसईईको निष्पक्षता र अनुशासन कायम राख्न कडा कदम आवश्यक रहेकोमा अधिकांश सरोकारवालाहरू सहमत देखिए पनि एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण नष्ट गर्नु उचित थियो वा थिएन भन्ने विषयमा बहस चर्किएको छ।

एकातिर परीक्षा प्रणालीमा प्रविधिको दुरुपयोग रोक्न कडा सन्देश गएको तर्क गरिँदै छ भने अर्कोतर्फ राज्यले वैकल्पिक कानुनी उपाय अपनाउन सक्ने अवस्थामा सार्वजनिक सम्पत्ति सरहको निजी सम्पत्ति नष्ट गर्नु कति न्यायोचित हो भन्ने प्रश्न उठिरहेको छ। सिरहामा गरिएको यो निर्णयले परीक्षा व्यवस्थापन, कानुनी अधिकार, व्यक्तिगत सम्पत्तिको संरक्षण र डिजिटल गोपनीयताजस्ता विषयलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ।

प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३  ०८:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update