काठमाडौं । नागरिक समाज युवा मञ्चको अध्यक्ष पदमा प्यूठान नौवहिनी गाउँपालिकाका पुरन थापा विजयी भएका छन् । लुम्बिनी प्रदेशको भालुबाङ्गमा जेठ २२ र २३ गते भएको लुम्बिनी प्रदेशका १२ वटै जिल्लाहरुका युवाहरुको सम्मेलनबाट थापा अध्यक्षमा चयन भएका हुन् ।
थापा लामो समयदेखि सामाजिक सेवामा आवद्ध थिए । दाङको भालुवाङमा सम्पन्न लुम्बिनी प्रदेश युवा सम्मेलन २०८३ ले शिक्षा, स्वास्थ्य, रोजगारी, डिजिटल अधिकार, जलवायु न्याय र सुशासनका विषयमा साझा घोषणापत्र सार्वजनिक गरेको छ।

गैरसरकारी संस्था महासंघ नेपाल र युवा अभियानको संयुक्त आयोजनामा भएको सम्मेलनमा प्रदेशका १२ जिल्लाका युवाहरूको सहभागिता रहेको थियो।
घोषणापत्रमार्फत युवाहरूले डिजिटल अधिकार तथा गोपनीयता सम्बन्धी ऐन निर्माण, विद्यालय तहदेखि नै एआई तथा डिजिटल साक्षरता समावेश, मानसिक स्वास्थ्य सेवाको विस्तार, रोजगारीमुखी शिक्षा, जलवायु परिवर्तन न्यूनीकरण तथा निर्णय प्रक्रियामा कम्तीमा २० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन्।

सम्मेलनमा सहभागी युवाहरूले गलत सूचना, साइबर दुव्र्यवहार र विभेदविरुद्ध सचेतना फैलाउने, नागरिक अनुगमनमा सक्रिय रहने तथा स्थानीय विकास निर्माणमा रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
