काठमाडौं । क्यापिटल फ्लाईङमा अग्रणी भनेर आरोप लाग्ने गरेका नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको कम्पनीले नेपालमा दुई लक्जरी होटेल निर्माण गर्ने भएको छ।
म्यारियट होटेलसंगको सम्झौतापश्चात चौधरी ग्रुपले दुई होटेल निर्माण गर्ने गरि काम अघि बढाएको छ। यस्तै, अष्ट्रेलियन व्यापारी शेष घलेले लैनचौरमा निर्माण गरिरहेको होटेल दक्षिण एसियाकै सबैभन्दा लक्जरी होटेल बन्ने भएको छ।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी नेपालका एकमात्र डलर अर्बपति हुन्। चौधरीको कम्पनीले विश्वका धेरै देशमा विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ। विश्वव्यापी व्यापारमा अग्रण चौधरी ग्रुपले काठमाडौंमै दुई लक्जरी होटेल निर्माणबाट हस्पिटालीटी क्षेत्रमा नयाँ सन्देश दिन खोजेको छ।
जेनजी आन्दोलनपश्वात चौधरी ग्रुपले गर्न लागेको लगानी र चासोले रोजगारी सिर्जनादेखि अन्य क्षेत्रमा उत्साह छाउने विश्वास समेत गरिएको छ। यस्तै, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले विश्वप्रसिद्ध होटल सञ्जाल ‘म्यारियट इन्टरनेसनल’सँगको साझेदारीले नेपालको आतिथ्य (हस्पिटालिटी) क्षेत्रलाई नयाँ उचाईमा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटको नेपाल भ्रमणका अवसरमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले यो सहकार्य नेपालको समृद्धिका लागि एक ऐतिहासिक ‘स्टेटमेन्ट’ भएको बताए । आफ्नो २८ वर्ष लामो आतिथ्य क्षेत्रको यात्रा स्मरण गर्दै चौधरीले सन् १९९८ मा नेपालमा होटल शुरु गर्ने प्रयास प्राविधिक कारणले सफल हुन नसकेको उल्लेख गरे ।
उद्योगी चौधरीले नेपालको वर्तमान राजनीतिक नेतृत्व र युवा संसदप्रति आशावादी हुँदै सरकारको विकासको मार्गचित्रमा निजी क्षेत्रको साथ रहने प्रतिवद्धता जनाएका छन्। यस्तै म्यारियट इन्टरनेसनल र सीजी कर्प ग्लोवलबीच नेपाल र भारतमा तीनवटा नयाँ सुविधासम्पन्न होटलहरू सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
आईतवार काठमाडौंमा आयोजित एक विशेष समारोहमा म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटले यस साझेदारीको घोषणा गरेका हुन् ।
सम्झौताअनुसार काठमाडौंमा ‘द रिट्ज–कार्लटन’ र ‘द वेस्टिन’ तथा भारतको सिलिगुडीमा ‘जेडब्लु म्यारियट’ होटल सञ्चालनमा आउनेछन् । यी तीनवटा प्रतिष्ठित ब्राण्डहरूको विस्तारसँगै दक्षिण एसियाली क्षेत्रमा विलासी आतिथ्य (लक्जरी हस्पिटालिटी) र पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपिने विश्वास गरिएको छ । सम्झौतापश्चात अध्यक्ष डेभिड म्यारियटले सीजी कर्प ग्लोबलसँगको बढ्दो सम्बन्धप्रति खुशी व्यक्त गरे ।
नेपालको प्राकृतिक सुन्दरता र आतिथ्य संस्कारको प्रशंसा गर्दै अध्यक्ष म्यारियटले नेपालमा पर्यटन पूर्वाधारको विकास र विस्तारका लागि म्यारियट प्रतिवद्ध रहेको बताए ।
यता सीजी हस्पिटालिटीका प्रवन्ध निर्देशक राहुल चौधरीले यो साझेदारीले नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रको सम्भावनामाथि म्यारियटको उच्च विश्वासलाई झल्काएको दाबी गरे।
सिजी र म्यारियटबीचको व्यावसायिक सम्बन्ध छोटो समयमै निकै सुदृढ बनेको बताउँदै राहुलले दुई वर्षअघि फिलिपिन्सको चर्चित ‘द फार्म एट सान बेनिटो’लाई म्यारियटको ‘अटोग्राफ कलेक्सन’मा आवद्ध गरेको स्मरण गरे।
क्यापिटल फ्लाईङको आरोप खेप्ने गरेका चौधरीले होटेल क्षेत्रमा गर्न लागेको लगानीले भने उत्साह छाएको देखिन्छ। नेपालका एकमात्र डलर अर्बपति चौधरीले विश्वका विभिन्न मुलुकमा ठूलो लगानी गरिरहेका छन् । तर, पछिल्लो समय उनले नेपालमा लगानीको खास क्षेत्र पहिचान नै गर्न नचाहेको जसरी सिमितता देखाइरहेका थिए। टेलिकम क्षेत्रमा लगानी गर्न चाहेका उनले लाइसेन्स प्राप्त गर्न नसक्दा निराशा समेत पोख्ने गरेका थिए। यद्यपी चौधरी ग्रुपको यो लगानीले नेपालको अर्थतन्त्रमा ठूलो मदत पुग्ने विश्वास गरिएको छ।
दक्षिण एसियाकै लक्जरी होटेल पनि नेपालमै
अस्ट्रेलियन व्यवसायी शेष घलेको लगानीमा बनिरहेको लैनचौरस्थित होटेल दक्षिण एसियाकै लक्जरी होटेल बन्ने भएको छ। मेरियट इन्टरनेशनलअन्तर्गतका कम्पनीको फ्रेन्चाइजको रुपमा अस्ट्रेलियन व्यवसायी शेष घलेले निर्माया गरिरहेको होटेललाई शेराटनबाट लक्जरी कलेक्सनमा अघि बढाउनका लागि घलेले कामलाई तीब्रता दिएको बताएका छन्।
ट्रेड मार्क रजिष्टे«सनको काम अन्तिम चरणमा पुगेको व्यवसायी घलेले जनाएका छन्। अहिले होटेल निर्माणको काम म्यारियटकै अनुरोधअनुसार भइरहेको छ । घलेकाअनुसार निर्माणाधिन होटलको मेयरिट इन्टरनेशनको अध्यक्ष डेभिड म्यारिवटले अवलोकन समेत गरेका छन् ।
होटेलमा १६ अर्ब बढि लागत अनुमान गरिएको दाबी गरिरहेका घलेकी पत्नी जमुना घलेले पनि निर्माणमा सीपयुक्त कामदार पाउन मुस्किल रहेको गुनासो गरिन्।
मेरियट इन्टरनेशनलको स्थापना सन् १९२७ मा भएको थियो । अहिले यसका ९ हजार सात सयभन्दा बढी होटल तथा रिसोर्टहरू १४० भन्दा बढी देशमा सञ्चालनमा छन् । लैनचौरको यो होटल २०१३ देखि बन्न थालेपनि निर्माण अझै सकिएको छैन । होटलको काम करिव ७५ प्रतिशत सकिएको र अब छिट्टै सञ्चालनको घोषणा गरिने जनाइएको छ ।
