दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–२ अन्तर्गत पर्ने दोलखा–नागदह सडकखण्डको काम सुस्त गतिमा अगाडी बढेको छ । दशकौँदेखि सडकको समस्या झेलिरहेका स्थानीय अहिले फेरि सुरु भएको नयाँ योजनाले वास्तविक सुधार ल्याउला कि विगतकै जस्तो असारे विकासमा सीमित होला भन्ने चिन्तामा छन्।
वि.सं. २०६४ मा ट्रयाक खुलेको दोलखा–नागदह सडकमा हालसम्म करिब २८–२९ करोड रुपैयाँ खर्च भइसक्दा पनि अझै अवस्था सुधारिएको छैन ।
हरेक वर्ष मर्मत गरिए पनि वर्षा लाग्नासाथ सडक फेरि भत्किने गर्छ । करिब ८ किलोमिटर लामो यो सडक बजेट र योजनाको अभाव तथा टालटुले कामका कारण निर्माणमा १५ वर्षभन्दा बढी समय लाग्यो । सदरमुकाम चरिकोट नजिकै भए पनि सडकले स्थानीयलाई सहजता भन्दा बढी सास्ती दिएको गुनासो छ ।
वर्षायाममा सडक हिलाम्मे भई बस सेवा बन्द हुने र आवतजावत ठप्प हुने समस्या यहाँका नागरिकले हरेक वर्ष भोग्दै आएका छन् ।
करिब २८–२९ करोड खर्च भए पनि सडकछेउ नाला नबन्दा बर्खामा सडक बिग्रिने र बारम्बार मर्मत गर्नुपर्ने अवस्था यथावत् रहेको छ ।
समस्या समाधानका लागि चालु आर्थिक वर्ष २०८२\८३ मा भीमेश्वर नगरपालिकाको २५ लाख र सडक बोर्डको ४० लाख गरी ६५ लाख रुपैयाँको म्याचिङ फण्ड व्यवस्था गरिएको छ ।
पाथ फाइन्डर प्रालिले ४४ लाख ७ हजार रुपैयाँमा ठेक्का लिई जोखिमयुक्त उकालो–घुम्तीमा ढलान, पक्की नाला निर्माण र ह्युम पाइप बिछ्याउने काम अघि बढाएको छ ।
बिरामी, अपाङ्गता भएका नागरिक, विद्यार्थी र स्थानीयको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको यो सडकमा अब टालटुले होइन, परिणाम देखिने कामको अपेक्षा गरिएको छ । वडा कार्यालयले पनि यस पटक विगतको कमजोरी दोहोरिन नदिने दाबी गरेको छ ।
जेठ–असारको बदलिँदो मौसम र वर्षातको चुनौतीबीच काम भइरहेको कारण स्थानीयले अझै सहज रूपमा विश्वास गर्न सकेका छैनन् । किनकि विगतमा पनि करोडौँ बजेट खर्च भएको दाबी गरिए पनि दिगो समाधान नहुँदा सास्ती भने ज्यूँ का त्यू छ ।
