महोत्तरी । भारतको हरियाणास्थित एक पोल्ट्री फार्ममा श्रम शोषण र बन्धक अवस्थामा रहेका महोत्तरीका १६ जना नेपाली नागरिकको उद्धार गरिएको छ । आफन्त इण्डिया नामक संस्थाको पहल तथा नेपाली दूतावास, नयाँ दिल्लीको समन्वयमा उनीहरूको उद्धार गरिएको हो ।
कमजोर आर्थिक अवस्था र रोजगारी अभावको फाइदा उठाउँदै नेपाली नागरिकलाई भारतका विभिन्न स्थानमा लगेर श्रम शोषण गर्ने क्रम जारी छ ।
महोत्तरी बर्दिबास–१४ का सदा समुदायका १६ जनालाई हरियाणाको झज्जरस्थित पोल्ट्री फार्ममा लगिएको थियो । राम्रो तलबको आश्वासन दिइए पनि त्यहाँ न्यून पारिश्रमिक, अत्यधिक काम, दुव्र्यवहार रातिसम्म काम गराउने र कुटपिट सहनुपरेको थियो ।
घटनाबारे जानकारी पाएपछि ‘आफन्त इण्डिया’ नामक संस्थाको पहल तथा नेपाली दूतावास, नयाँ दिल्लीको समन्वयमा उनीहरूको उद्धार गरिएको हो । उद्धार अधिकृत मानबहादुर श्रेष्ठले पीडितहरूको अवस्था दयनीय रहेको र उनीहरूको बक्यौता पारिश्रमिक समेत दिलाएर स्वदेश फर्काइएको जानकारी दिएका छन् ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी दिल्लीबाट नेपाल फर्किएका उनीहरू बुधबार अपराह्न सीमाक्षेत्र आइपुगेका हुन् । महोत्तरीका प्रमुख जिल्ला अधिकारीले उद्धार गरिएका नागरिकलाई स्वागत गर्दै उद्धार कार्यमा सहयोग गर्ने सबै निकायलाई धन्यवाद दिएका छन् ।
उद्धार गरिएका सबैलाई बर्दिबास–१४ का वडाध्यक्षको पहलमा बसको व्यवस्था गरी घर पठाइएको छ । रोजगारीको प्रलोभनमा परेर भारत पुगेका यी नागरिकको उद्धार भएपनि मानव बेचबिखन र श्रम शोषणविरुद्ध अझ प्रभावकारी निगरानी आवश्यक रहेको देखिएको छ ।
