News 24 Television
विश्लेषक गेजा शर्मा वाग्ले अमेरिकामा सम्मानित

न्युयोर्क । राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले न्युयोर्कको हेम्पस्टेड नगरबाट सम्मानित भएका छन्। एशियन सम्पदा उत्सवको अवसरमा हेम्पस्टेड नगरका सुपरभाइजर (मेयर) जोन फेरेटी र कार्यकारी निर्देशक जहिद स्याएदको तर्फबाट उनलाई यो सम्मान प्रदान गरिएको हो।

नेपालमा लोकतन्त्र सुदृढीकरणका लागि वाग्लेले पुर्‍याएको योगदानको कदर गर्दै कार्यकारी निर्देशक स्याएदले उनलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए। 

आफ्नो क्षेत्रमा क्रियाशील रही राष्ट्रका लागि योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने क्रममा नगरले नेपालका वाग्लेलाई सम्मान गरेको हो । 

वाग्ले करिब दुई दशकदेखि लोकतन्त्र सुदृढीकरण, मानवअधिकार र नेपालको परराष्ट्र  र सैन्य मामलामा कलम चलाउँदै आएका स्थापीत लेखक हुन् । 

 उत्सवमा नेपालका वाग्लेसहित चीन, भारत, पाकिस्तान, बंगलादेश, कोरिया, टर्की र फिलिपिन्स गरी आठ देशका व्यक्तित्वहरू सम्मानित भएका छन्।  

सम्मानबाट गौरवान्वित महसुस भएको बताउँदै वाग्लेले यसले नेपालमा लोकतन्त्रको संस्थागत विकास, मुलुकको समृद्धि र नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धका बारेमा थप उत्साहित भएर काम गर्ने प्रेरणा मिलेको उल्लेख गरेका छन्।

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update