मकवानपुर । पछिल्ला केही वर्षयता हेटौंडा उपमहानगरपालिका बसोबासका लागि देशकै आकर्षक शहरमध्ये एक बन्दै गएको छ । रोजगारी, शिक्षा, स्वास्थ्य सेवा, व्यापारिक सम्भावना, व्यवस्थित शहरी पूर्वाधारका कारण विभिन्न जिल्लाबाट हेटौंडामा बसाइँ सरेर आउनेको संख्या उल्लेखनीय रूपमा बढिरहेको तथ्यांकले देखाएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका पछिल्लो समय बसोबासका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । जिल्लाभित्रै र छिमेकी जिल्लाबाट बसाइँ सर्ने क्रम बढेको तथ्यांकले देखाउँछ ।
रोजगारी, व्यापार, शिक्षा, स्वास्थ्य सेवा, व्यवस्थित पूर्वाधार र काठमाडौँसँगको सहज पहुँचका कारण हेटौडामा आकर्षण बढेको हो । पहिले खाली जग्गा र विरलै बस्ती भएको क्षेत्र अहिले प्रमुख आवासीय केन्द्र बनेको छ ।
आर्थिक वर्ष २०७९\०८० मा १ हजार २४ परिवार बसाइँ सरेर हेटौंडा आएका थिए भने आर्थिक वर्ष २०८०\०८१ मा ९५९ परिवार तथा २०८१\०८२ मा ८१९ परिवार हेटौंडा भित्रिएका छन् । चालु आर्थिक वर्ष २०८२\०८३ को वैशाख मसान्तसम्म मात्रै ५९३ परिवार हेटौंडामा बसाइँ सरेर आएका छन् ।
हेटौंडामा बसाइँ सर्ने क्रम बढेसँगै जनघनत्व र सेवामाथि चाप बढ्दैछ । यसले सडक, खानेपानी, ढल, फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्यमा दबाब पर्ने जोखिम देखिएको छ भने अव्यवस्थित बस्ती, ट्राफिक समस्या र सेवा माग पनि बढ्न सक्छ । यी चुनौतीलाई ध्यानमा राख्दै उपमहानगरपालिकाले योजनाबद्ध शहरी विकासलाई प्राथमिकता दिएका बताएको छ ।
हेटौडमा विशेषगरी तराई मधेशका बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीबाट बसाई सर्नेको संख्या उल्लेखनीय रूपमा बढेको छ । यसबाहेक चितवन, सिन्धुली र रामेछापबाट पनि बसाइँ सर्ने क्रम बढ्दो छ ।
काठमाडौँसँगको सहज पहुँच, भौगोलिक अवस्था, आर्थिक गतिविधि र शान्त शहरी वातावरणले आकर्षण बढाएको हो । सडक, खानेपानी, विद्युत्, सञ्चार, स्वास्थ्य र शिक्षा पूर्वाधारको सुधारले हेटौंडालाई बसोबासका लागि उपयुक्त शहर बनाइरहेको छ ।
देशभरिकै चासोमा हेटौडा, बसाई सर्नेको भीड बर्सेनि उच्च
