News 24 Television
९ सय वर्ष पुरानो बौद्ध ग्रन्थ जोगाउने अद्भुत परम्परा

काठमाडौं । ललितपुरको हिरण्यवर्ण महाविहारमा ९ सय वर्ष पुरानो सुनले लेखिएको बौद्ध ग्रन्थ प्रज्ञापारमिताको पुनर्लेखन भइरहेको छ । दैनिक पाठका कारण खिइएपछि हरेक तीन वर्षमा प्रज्ञा पारमिता पुनर्लेखन गरिन्छ । यो ग्रन्थलाई बुद्धको दुःखमुक्ति मार्गको प्रमुख ज्ञानग्रन्थ मानिन्छ ।

बौद्ध धर्मको समृद्ध सांस्कृतिक तथा आध्यात्मिक विरासत बोकेको ललितपुरमा यतिबेला एउटा महत्वपूर्ण धार्मिक ग्रन्थ संरक्षण गर्ने काम भइरहेको छ । 

ललितपुरस्थित गोल्डेन टेम्पल अर्थात् हिरण्यवर्ण महाविहारमा अहिले प्रज्ञापारमिता सूत्रको जीर्णोद्धार कार्य जारी छ ।  प्रत्येक तीन वर्षमा आउने मलमासका अवसरमा रञ्जना लिपिमा लेखिएका बुद्ध वचनहरूलाई स्वर्ण अक्षरले पुनर्लेखन गर्ने परम्परा ललितपुरमा सदियौँदेखि निरन्तर चल्दै आएको छ ।

प्रज्ञा पारमिता बौद्ध धर्मको महायान सम्प्रदायको मुख्य ग्रन्थ हो । ८ हजार श्लोक समेटिएको यो सूत्रमा बुद्धत्व प्राप्तिका सिद्धान्त तथा बुद्धसँग सम्बन्धित विविध प्रसंगहरु छन् । दैनिक पाठ गर्ने, खोल्ने र बन्द गर्ने क्रममा यो ग्रन्थका सुनका अक्षर मेटिदै जान्छन् । 

त्यसैले यसको समय समयमा पुनर्लेखन गरिन्छ । सुनको धुलोलाई पकाएको आलाससँग मिसाएर तयार गरिएको मसीले पुरानै अक्षरमाथि पुनः लेख्ने गरिन्छ । च्यातिएका वा अस्पष्ट भएका भागहरू भने मूल ग्रन्थको सहायताले कलाकारहरुले पुनस्र्थापना गर्छन् । 

स्वास्थ्य लाभ, शुभकार्य तथा धार्मिक पुण्यको कामनासहित बौद्ध धर्मावलम्बीहरु महिनौँ देखि नै पालो कुरेर प्रज्ञापारमिता पाठ गराउन यो विहारमा आउने गरेका छन् । 

बौद्ध धर्म र प्रज्ञा पारमिता 

बौद्ध धर्ममा प्रज्ञापारमिताको अर्थ ज्ञानको परिपूर्णता वा परम प्रज्ञा हो । यो महायान बौद्ध परम्पराको मूल दर्शन मानिन्छ । प्रज्ञापारमिता सूत्रहरूमा शून्यता, करुणा र बुद्धत्व प्राप्तिको मार्गबारे विस्तृत चर्चा गरिएको छ ।

बौद्ध अनुयायीहरूका लागि यसले अज्ञान, मोह र दुःखबाट मुक्ति पाउने मार्ग देखाउँछ । बुद्धत्व प्राप्त गर्न आवश्यक ६ वटा पारमितामध्ये प्रज्ञालाई सर्वोच्च मानिन्छ । त्यसैले प्रज्ञापारमिता धार्मिक ग्रन्थ मात्र नभई बौद्ध दर्शन र साधनाको महत्वपूर्ण आधार मानिन्छ । 

स्वर्ण अक्षरले लेखिएका प्रज्ञा पारमिता भएका कारण पनि ललितपुरलाई कला र सम्पदाको शहर मात्र नभई जीवित बौद्ध परम्पराको केन्द्रका रूपमा पनि स्थापित गरेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update