News 24 Television
पुरुषोत्तम मासमा शिवालय महादेव मन्दिरमा धार्मिक जागरण : दुईदिने भजन–कीर्तन तथा कथा वाचन भव्य रूपमा सम्पन्न

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–२ स्थित ऐतिहासिक शिवालय महादेव मन्दिर परिसरमा पुरुषोत्तम मासको पावन अवसरमा आयोजित दुईदिने धार्मिक कार्यक्रम भव्य एवं श्रद्धापूर्वक सम्पन्न भएको छ। 

शिवालय महादेव मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा भजन–कीर्तन, श्लोक वाचन, कथा प्रवचन, पूजा–आराधना तथा साधनाजस्ता विविध धार्मिक गतिविधि सञ्चालन गरिएका थिए।

धार्मिक आस्था र आध्यात्मिक चेतनाले भरिएको उक्त कार्यक्रममा सयौंको संख्यामा महिला तथा पुरुष भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो। 

1-1781420058.jpg
मन्दिर परिसर भक्तिभाव, हरिनाम संकीर्तन र धार्मिक ऊर्जाले भरिपूर्ण बनेको थियो। कार्यक्रममा गुरु माधव धितालको मुखारविन्दुबाट शंखध्वनि र वैदिक मन्त्रोच्चारणसहित धार्मिक कथा वाचन गरिएको थियो। 

त्यस्तै गुरु सुवास धितालबाट विशेष पूजा–आराधना तथा मण्डप पूजा सम्पन्न गरिएको थियो। उपस्थित भक्तजनहरूले भजन, कीर्तन, श्लोक वाचन तथा सामूहिक साधनामार्फत आध्यात्मिक आनन्द प्राप्त गरेका थिए।

हिन्दू धार्मिक मान्यताअनुसार पुरुषोत्तम मासलाई मानव जीवनको कल्याण, आत्मशुद्धि तथा मोक्ष प्राप्तिका लागि अत्यन्त शुभ र पुण्यमय समय मानिन्छ। यही विश्वासका साथ आयोजित कार्यक्रममा सहभागी भक्तजनहरूले धर्म, संस्कार र सामाजिक एकताको सन्देश प्रवाह भएको बताएका छन्।

दुई सय वर्ष पुरानो इतिहास बोकेको शिवालय महादेव

स्थानीय अग्रजहरूका अनुसार करिब दुई सय वर्षअघि समाजसेवी कुलदिप घिमिरेले यस स्थानमा शिवालय महादेव मन्दिर स्थापना गरी नियमित पूजा–आराधना प्रारम्भ गरेका थिए। समयसँगै उक्त मन्दिर धार्मिक आस्था र सामाजिक एकताको केन्द्रका रूपमा विकसित हुँदै आएको छ।

कुलदिप घिमिरेकै पाँचौं पुस्ताका सन्तान तथा पत्रकार नवराज घिमिरेले आफ्ना पुर्खाले स्थापना गरेको पवित्र धार्मिक धरोहरको इतिहास र वर्तमान गतिविधिलाई समाचारमार्फत सार्वजनिक गर्न पाउँदा विशेष गर्व र आत्मिक सन्तुष्टि अनुभूत भएको बताए।

स्थानीय जानकारहरूका अनुसार मन्दिरकै नामबाट श्री शिवालय विद्यालय स्थापना भएको हो। कुलदिप घिमिरेका तेस्रो पुस्ताका नाति रामप्रसाद घिमिरेका अनुसार, “यदि शिवालय महादेव मन्दिर स्थापना नभएको भए सम्भवतः यही नामबाट विद्यालयको स्थापना हुने थिएन। मन्दिरले यस क्षेत्रको पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ।”

धार्मिक गतिविधिले बढाउँछ सामाजिक एकता

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज घिमिरेले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणका लागि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिए। उनले दुईदिने भजन–कीर्तन तथा कथा वाचन कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण भक्तजन, दातृवर्ग र स्वयंसेवकप्रति आभार व्यक्त गरे।

समितिका उपाध्यक्ष शिवराम घिमिरेले समितिले विधानअनुसार मानार्थ सदस्य, आजीवन सदस्य तथा साधारण सदस्यको वर्गीकरण गरी संस्थागत रूपमा काम गरिरहेको बताए। धार्मिक गतिविधिहरूले समाजमा सकारात्मक सोच, नैतिकता, सद्भाव र आत्मिक शान्ति फैलाउने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।

33-1781420080.jpg
धार्मिक आस्था, सांस्कृतिक संरक्षण र सामाजिक एकताको अनुपम उदाहरण बनेको शिवालय महादेव मन्दिरमा सम्पन्न यो कार्यक्रमले स्थानीय समुदायमा नयाँ उत्साह, आध्यात्मिक ऊर्जा र धार्मिक चेतनाको सञ्चार गरेको सहभागीहरूको भनाइ छ। 

पुरुषोत्तम मासको अवसरमा आयोजित यस धार्मिक महोत्सवले भक्तजनहरूलाई धर्ममार्गमा अग्रसर गराउँदै मानव कल्याण र सद्भावको सन्देश प्रवाह गरेको छ।

प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update