सप्तरी । सप्तरी जिल्लाको पूर्वी सीमा सुरुवातमै रहेको हनुमाननगर कंकालिनी नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
न्युज २४ टेलिभिजन मार्फत भएको सिधा कुरा मेयरसँग सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गरेको काम जनता माझ साझा गरेका छन् । कार्यक्रममा उपस्थित स्थानीय बासिन्दाले पनि आफ्नो गुनासो जनप्रतिनिधिसँग राख्ने मौका पाएका छन् ।
सप्तरी जिल्लाको पूर्वी सीमाबाट सुरु भएर ११८.१९ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको हनुमाननगर कंकालिनी नगरपालिका १८ स्थानीय तहमध्ये सार्वजनिक सुनुवाई गर्ने उदाहरणीय पालिका हो ।
यसपटक न्युज २४ टेलिभिजनमार्फत तीन वडामा कार्यक्रम भयो । कार्यक्रममा नगर प्रमुख विरेन्द्र माझीले कृषि र शिक्षालाई प्राथमिकता दिएको बताए ।
नेपालको प्रमुख सीमावर्ती नगरमध्ये हनुमाननगर कंकालिनी नगरपालिका व्यापार, आवागमन र सांस्कृतिक आदानप्रदानमा महत्वपूर्ण छ ।
सप्तरीको पुरानो सदरमुकाम हनुमाननगर र कंकालिनी माताको नामबाट नामकरण गरिएको यस नगरको जनगणना २०७८ अनुसार जनसंख्या ५१ हजार ९ सय २६ छ । भारदहस्थित कंकालिनी शक्तिपीठ नेपाल–भारतका लाखौं श्रद्धालुको आस्थाको केन्द्र हो ।
कार्यक्रममा यसको व्यवस्थापनमा पालिकाको भूमिका आवश्यक भन्दै स्थानीयले आवाज उठाए । कर्मचारीको लामो कार्यकाल र आन्तरिक सरुवाबारे पनि प्रश्न उठाइएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले सुशासनको क्षेत्रमा नगरपालिकाले कुनै किसिमको लापरबाही नसहने बताए । उनले सेवाग्राहीलाई सास्ती हुने कुनै काम नगर्न कर्मचारीलाई निर्देशन दिइसकेको बताए ।
यहाँ कोशी नदी आसपासको प्राकृतिक वातावरण, ग्रामीण जीवनशैली, स्थानीय संस्कृति तथा सीमावर्ती क्षेत्रको विशिष्ट पहिचानले पनि पर्यटकहरूलाई आकर्षित गर्ने गरेको छ । धार्मिक पर्यटन, सीमावर्ती व्यापार, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका दृष्टिले हनुमाननगर कंकालिनी नगरपालिका अत्यन्त सम्भावनायुक्त क्षेत्र हो ।
