News 24 Television
शिर्ष दश रक्तदाता समूहमा स्थान बनाउन सफल तमु समाज कुवेत सम्मानित

कुवेत । विश्व रक्तदाता दिवसको अवसरमा कुवेतको स्वास्थ्य मन्त्रालयले आयोजना गरेको विशेष समारोहमा तमु समाज कुवेत तथा समाजका पूर्व अध्यक्ष खोप गुरुङ सम्मानित भएका छन्।

रक्तदानको क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदान, मानवीय सेवाप्रतिको समर्पण तथा कुवेतका सक्रिय रक्तदाता समूहहरूमध्ये शिर्ष दश स्थानमा पर्न सफल भएकाले उक्त सम्मान प्रदान गरिएको हो।

3-1781675029.jpg
समारोहमा कुवेतका स्वास्थ्य मन्त्री डा. अहमद अल-अवाधीले रक्तदान संस्कृतिको विकास तथा मानव जीवन बचाउन रक्तदाताहरूले खेलेको भूमिकाको प्रशंसा गरेका थिए। मन्त्रालयका अनुसार सन् २०२६ को सुरुदेखि जुन ६ सम्म पाँच लाखभन्दा बढी व्यक्तिले रक्त तथा प्लेटलेट दान गरेका छन्।

तमु समाज कुवेतले विगतदेखि नै नेपाली समुदायलाई समेटेर नियमित रक्तदान अभियान सञ्चालन गर्दै आएको छ। रोजगारीका लागि विदेशमा रहेका नेपालीहरूले आफ्नो व्यस्त समयबाट समेत रक्तदानमार्फत मानवीय सेवामा योगदान पुर्‍याउँदै आएका छन्। 

तमु समाजको यो उपलब्धिले कुवेतस्थित नेपाली समुदायको प्रतिष्ठा बढाएको मात्र नभई अन्य संघसंस्था र समुदायलाई समेत प्रेरणा दिएको छ।

1-1781675048.jpg
कुवेतको सरकारी निकायबाट नेपाली संस्था तथा नेपाली व्यक्तित्व सम्मानित हुनु नेपाली समुदायका लागि गौरवको विषय बनेको छ। यसले नेपालीहरूलाई जिम्मेवार, सहयोगी र मानवताप्रेमी समुदायका रूपमा थप चिनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

यस अवसरमा तमु समाज कुवेतले रक्तदान अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, सामाजिक अभियन्ता, विभिन्न संघसंस्था तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको छ।

2-1781675099.jpg
उक्त रक्तदान अभियानमा युवा शक्ति कुवेतले पनि सहकार्य गरेको थियो। संस्थाका युवा संयोजक नवराज विश्वकर्माका अनुसार युवा शक्ति कुवेतका सदस्यहरूले रक्तदान कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए।

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update