News 24 Television
नेपाल फ्युचर फोरम २०२६ : नेपालको भविष्यबारे उच्चस्तरीय राष्ट्रिय संवाद शुक्रबार काठमाडौंमा

काठमाडौं । नेपालको दीर्घकालीन विकास, नीतिगत सुधार, आर्थिक सम्भावना तथा भविष्यका अवसर र चुनौतीमाथि गहन बहस गर्ने उद्देश्यसहित ‘नेपाल फ्युचर फोरम २०२६’ आयोजना हुने भएको छ।

नेपाल फ्युचर फोरमद्वारा आयोजित पहिलो वार्षिक सम्मेलन आगामी शुक्रबार, जुन १९ मा काठमाडौंको भृकुटीमण्डपमा स्थित नेपाल प्रहरी क्लबको द ब्लु प्याभिलियनमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम भौतिक उपस्थितिका साथै अनलाइन लाइभस्ट्रिममार्फत पनि सार्वजनिक रूपमा प्रसारण गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन तथा स्वागत मन्तव्य फोरमका संयोजक अब्दुस मियाले गर्नेछन्। उद्घाटनपछि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थशास्त्री डा। प्रकाश श्रेष्ठ ले “नेपालको आर्थिक सम्भावना स् सन् २०३५ सम्मको समृद्धिको दृष्टिकोण” विषयमा प्रमुख मन्तव्य प्रस्तुत गर्नेछन्। उनले लगानी, व्यापार, जलविद्युत्, उद्यमशीलता र नवप्रवर्तनका माध्यमबाट नेपालको आर्थिक रूपान्तरणका सम्भावनाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन्।

दिउँसो १२:१५ बजे “प्रविधि, कृत्रिम बुद्धिमत्ता र नेपालको डिजिटल भविष्य” विषयक विशेष सत्र आयोजना हुनेछ। टेकपानाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत बिजय तिमिल्सिना को सहजीकरणमा सञ्चालन हुने उक्त सत्रमा क्षितिज रिमाल (संस्थापक, नेक्स्ट एआई), डा. दोवन राई (कृत्रिम बुद्धिमत्ता विशेषज्ञ), मनोज ग्यवाली (प्रमुख कार्यकारी अधिकृत, नबिल बैंक) तथा रोमकान्त पाण्डेय (सहप्राध्यापक, त्रिभुवन विश्वविद्यालय) सहभागी हुनेछन्।

दिउँसो १:४५ बजे वरिष्ठ पत्रकार तथा लेखक कनकमणि दीक्षित ले “नेपाल संक्रमणमा : आउँदो दशकमा नेपालले के सही गर्नुपर्छ ?” विषयमा दोस्रो प्रमुख मन्तव्य दिने कार्यक्रम रहेको छ।

त्यसपछि दिउँसो २:३० बजे “लोकतन्त्र, सुशासन र राजनीतिको भविष्य” विषयक उच्चस्तरीय राजनीतिक संवाद सञ्चालन हुनेछ। रुपेश श्रेष्ठको सहजीकरणमा हुने उक्त सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशान्त वैदिक, नेपाली कांग्रेसका सांसद निश्कल राई, नेकपा (एमाले)का सांसद क्षितिज थेबे तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले नेपालको राजनीतिक भविष्य, सुशासन र लोकतान्त्रिक अभ्यासबारे आफ्ना धारणा राख्नेछन्।

दिउँसो ३:३० बजेदेखि सुरु हुने ‘फ्युचर टक्स’ अन्तर्गत विभिन्न क्षेत्रका उदीयमान युवा अगुवाहरूले आफ्ना विचार प्रस्तुत गर्नेछन्। यसअन्तर्गत डा। छिरिङ लामा ले “प्रतिस्पर्धी नेपालका लागि नवप्रवर्तन”, नवराज कुँवर ले “हल्लाको युगमा सत्यता स् पत्रकारिता र लोकतन्त्र”, अनिल पोखरेल ले “नेपालको अर्को ठूलो विपद् स् के नेपाल तयार छ ?”, रवि किरण हमाल ले “पोस्ट जेनजी राजनीति स् व्यवधानबाट राष्ट्र निर्माणतर्फ”, आश्रा कुँवर ले “संरक्षणको विरोधाभास स् जलवायु परिवर्तन, अनमापित जोखिम र मानव–वन्यजन्तु द्वन्द्व” तथा माजिद अन्सारी ले “संशोधनको एजेन्डा स् नेपालको संवैधानिक संरचना सुदृढीकरण” विषयमा प्रस्तुति दिनेछन्।

कार्यक्रमको समापन फोरमका मेनाल्ड लामिछानेले दिनभरिका छलफलको सार प्रस्तुत गर्दै नेपाल फ्युचर फोरमको भावी दिशा र योजनाबारे जानकारी गराउनेछन्।

आयोजकका अनुसार सम्मेलनले नीति निर्माता, अर्थविद्, प्रविधिविज्ञ, राजनीतिक नेतृत्व, व्यवसायी, युवा अगुवा तथा नागरिक समाजका प्रतिनिधिहरूलाई एउटै मञ्चमा ल्याएर नेपालको भविष्यबारे सार्थक र परिणाममुखी संवादको वातावरण सिर्जना गर्ने लक्ष्य राखेको छ।

नेपाल फ्युचर फोरमले यो सम्मेलनलाई नेपालको आर्थिक, प्राविधिक, राजनीतिक र सामाजिक रूपान्तरणका लागि आवश्यक दीर्घकालीन सोच, नीतिगत बहस र सहकार्यलाई थप गति दिने महत्वपूर्ण पहलका रूपमा लिएको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update