News 24 Television
गुलरियाका बाढी पीडितले घर पाउन थाले

बर्दिया । बर्दियाको गुलरियामा २०७१ सालमा बाढीबाट विस्थापित भएकाहरुका लागि भूकम्प प्रतिरोधात्मक घर निर्माण गरी हस्तान्तरण गरिएको छ । नगरपालिका र कारितास नेपालको भावी प्रभावित परिवारहरूको आपत्कालीन जीविकोपार्जन तथा पूर्वाधार पुनस्र्थापना परियोजना अन्तर्गत घर निर्माण गरी हस्तान्तरण गरिएको हो । 

बर्दियाको गुलरिया नगरपालिका–८ मा २०७१ सालको बाढीबाट विस्थापित परिवारका लागि भूकम्प प्रतिरोधात्मक २६ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको छ । प्रति परिवार ६ लाख ३१ हजार २२० रुपैयाँ लागतमा बनेका घर नगरपालिका र कारिदासको सहयोगमा हस्तान्तरण भएपछि टपरा गाउँका स्थानीय खुसी भएका छन् । 

बाढी पीडितका लागि गुलरिया नगरपालिकाले प्रत्येक घरपरिवारलाई २ लाख, कारितास नेपालले १ लाख ६९ हजार ७१४ रुपैयाँ र स्थानीय जनश्रमदान २ लाख ६१ हजार ५०० रुपैयाँ लगानी गरेको छ । कुल १ करोड ७१ लाख ३२ हजार ७४९ लागतमा २८ घर निर्माण भएका छन् । उपप्रमुख सावित्रा गौतमले सहकार्य जारी रहने र जीवनस्तर सुधार हुने बताइन् । 

यसअघि कारितासले गुलरिया नगरपालिकासँग सहकार्य गरी वडा नम्बर ४ र १० मा बाढी पीडितका लागि घर निर्माण गरेको थियो । आपत्कालीन जीविकोपार्जन तथा पूर्वाधार पुनस्र्थापना परियोजना अन्तर्गत अहिलेसम्म २०६ वटा घर निर्माण गरी बाढी प्रभावित परिवारलाई हस्तान्तरण गरिएको छ । 

बाढी पिडितका लागि घर निर्माण गर्दै आइरहेको गुलरिया नगरपालिकाले यस वर्ष पनि घर निर्माणको कार्यलाई निरन्तरता दिनु नै बाढी पिडितको नाममा मलम लगाउने काम भएको देखिन्छ । सरकारले पीडितहरूलाई राहत दिन नसकेको अवस्थामा नगरपालिकाले गरेको कामको भने चौतर्फी चर्चा हुन थालेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update