दोलखा । ३२ वर्षअघि दोलखा बजारबाट चोरी भएका मल्लकालीन आकाश भैरवका दुई मुकुट अमेरिकाबाट कूटनीतिक तथा कानुनी प्रक्रियामार्फत स्वदेश फर्काइएका छन् । ती मुकुटलाई धार्मिक विधिसहित चरिकोटदेखि स्थानीयको सहभागितामा दोलखा भित्र्याइएको छ ।
वि.सं. २०५०÷५१ मा दोलखाको गुरुकोट टोलस्थित नक्छे प्रधान खलकको कुलघरबाट चोरी भएका आकाश भैरवका दुई ऐतिहासिक मुकुट ३२ वर्षपछि आफ्नै थातथलोमा फर्किएका छन् । अमेरिकाको डलास र न्युयोर्कका संग्राहलयमा रहेका यी मुकुट नेपाल ल्याउँदै राष्ट्रिय संग्रहालय छाउनीबाट कडा सुरक्षाबीच दोलखा पु¥याइएको हो । यो अवसरमा चरिकोट बजार उत्सवमय बनेको थियो भने स्थानीयहरू फूलमाला, अबिर र धूपबत्तीसहित स्वागतमा लामबद्ध थिए ।
यो ऐतिहासिक पुनरागमनलाई सरकारी र स्थानीय दुवै स्तरबाट उच्च सम्मान दिइएको छ । बजार परिक्रमा पछि १६औँ शताब्दीका मल्लकालीन आकाश भैरवका मुकुटहरू गुरुकोट टोलस्थित नक्छे प्रधान खलकको कुलघरमा राखी परम्परागत तथा तान्त्रिक विधिअनुसार अभिषेक र प्राणप्रतिष्ठा गरियो ।
लस्ट आट्र्स अफ नेपालको खोजमार्फत अमेरिका पुगेका ती सम्पदा पुरातत्व विभाग, नेपाली महावाणिज्य दूतावास, एफबीआई र म्यानहटन जिल्ला सरकारी वकिल कार्यालयको समन्वयमा जफत भई नेपाल फर्काइ राष्ट्रिय संग्रहालयमा राखिएका थिए । बिहिवार विहीबार नक्छे प्रधान खलकका ८३ वर्षीय ज्येष्ठ पुजारी यज्ञकुमार प्रधानको टोलीले मुकुटलाई स्वागत गरेको छ ।
३२ वर्षअघि आफ्नो अमूल्य सम्पदा चोरी हुँदा चिन्तित दोलखाबासी सम्पदा फिर्ता आउँदा चरिकोटदेखि दोलखा बजारसम्म गुन्जिएको यो बाजाको धूनसँगै खुसी देखिएका छन् ।
