News 24 Television
मुस्ताङ जोखिममा, अर्बौका पूर्वाधार संकटमा

मुस्ताङ । मुस्ताङको छुसाङदेखि तल्लो मुस्ताङका कालीगण्डकी नदि किनारका बस्ती उच्च जोखिममा परेका छन् । नदिजन्य पदार्थको उत्खननमा लगाएको रोकका कारण नदिको सतह बढ्दा मानववस्ती जोखिममा परेको छ । 

दृष्यमा देखिएको यो गाँउ मुस्ताङको चर्चित गाँउ एक्लेभट्टीेको हो । जहाँ १ दशक अघिसम्म ठुलै बजार थियो । तर अहिले भने यो बजार आफ्नै अस्तित्व जोगाउन गुहार मागिरहेको छ । यसको प्रमुख कारण हो बस्तीभन्दा माथिल्लो सतहमा पुगेको कालिगण्डकी नदी । 

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र नदीजन्य पदार्थ उत्खननमा लगाइएको पूर्ण प्रतिबन्धले मुस्ताङका नदीकिनारका बस्ती र अर्बौँका पूर्वाधार जोखिममा परेका छन् । 

ढुङ्गा, गिट्टी र बालुवा थुप्रिँदा नदीको सतह बढेर बाढी तटीय क्षेत्रमा सोझिएको छ । विकासका सामग्री महँगोमा आयात गर्नुपर्ने बाध्यता छ । कालीगण्डकी नदीले बहाव परिवर्तन गर्दा एक्लेभट्टी बजार कटानको जोखिममा परेको छ । स्थानीयहरू बाढीको त्रासले रातभर निदाउन नसक्ने अवस्थामा पुगेको बताउँछन् ।

मुक्तिनाथ र उपल्लो मुस्ताङ जोड्ने पाण्डा खोलाको रणनीतिक पुलको जग क्षतिग्रस्त भएपछि यातायात अवरुद्ध हुने जोखिम बढेको छ । त्यसैगरी छुसाङ बस्ती कालीगण्डकी र नरसिंह खोलामा थुप्रिएको गेग्रानका कारण दोहोरो जोखिममा छ । नरसिंह खोला थुनिएर बनेको ताल फुटे पुरै बस्ती बग्ने त्रास रहेको स्थानीय बताउँछन् ।

एक्यापको कडा नियमका कारण स्थानीय तहले नदीजन्य पदार्थ व्यवस्थापन गर्न पाएका छैनन् । यसले विकास निर्माणका सामग्री बाहिरबाट महँगोमा ल्याउनुपर्ने बाध्यता सिर्जना गरेको छ भने आयोजनाको लागत दोब्बर र काममा ढिलाइ बढाएको छ । यो विषय गम्भीर भएकाले अध्ययन गरी माथिल्लो निकायमा प्रतिवेदन पठाइसकेको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताइन् । 

जलवायु परिवर्तनका कारण मुस्ताङमा छोटो अवधिमा भारी वर्षा बढेको छ । कमजोर भू–बनोट, मुसलधारे पानी र नदीमा थुप्रिएको गेग्रानका कारण बाढी तथा कटानको जोखिम झन् बढेको छ । 

संरक्षण र विकास नीति प्रभावकारी नहुँदा प्राकृतिक प्रकोपको खतरा र राज्यको आर्थिक क्षति समेत बढेको छ । स्थानीयवासीले नदीको वैज्ञानिक उत्खनन, बहाव नियन्त्रण र पूर्वाधार संरक्षणका लागि तत्काल सरकारी पहलको माग गरेका छन् । 

प्रकाशित मिति: शनिबार, असार ६, २०८३  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update