काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय समितिको नवनिर्वाचित नेतृत्वले शपथ ग्रहण गर्दै औपचारिक रूपमा नयाँ कार्यकालको जिम्मेवारी सम्हालेको छ।
फोनिजका केन्द्रीय अध्यक्ष लक्की चौधरीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरे ।
नयाँ कार्यकालका लागि प्रशान्त मालीको अध्यक्षतामा १९ सदस्सीय उपत्यका समन्वय समितिको पूर्ण समिति गठन गरिएको छ। कार्यक्रममा फोनिजका केन्द्रीय तथा विभिन्न तहका पदाधिकारी, पत्रकार र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले आदिवासी जनजाति समुदायका भाषा, कला, संस्कृति, पहिचान तथा सरोकारका विषयलाई सञ्चार माध्यममार्फत थप सशक्त रूपमा उठान गर्न नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।
शपथ ग्रहण तथा प्रमाणपत्र वितरणसँगै फोनिज उपत्यका समन्वय समिति नयाँ कार्यकालमा प्रवेश गरेको छ।
नवनिर्वाचित नेतृत्वले संस्थाको उद्देश्यअनुरूप पत्रकारहरूको क्षमता अभिवृद्धि, पेशागत हकहितको संरक्षण तथा आदिवासी जनजाति समुदायका मुद्दाहरूको प्रवर्द्धनमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
